डालास टेक्सास
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। गत अप्रिल १८ र १९ गते टेक्सासको डालास शहरमा ‘नेजा कनक्लेभ (छलफछ) २०२६’, नेपालमा प्रवासी लगानी संम्बन्धी छलफल र रक्तदान कार्यक्रमको सफल आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो। नेजा उत्तर अमेरिकामा रहेका सक्रिय नेपाली पत्रकारहरूको साझा संस्था हो। कनक्लेभ २०२६ मा पत्रकारिताका वर्तमान चुनौतीहरू—सम्पर्क, सूचना र एकता—लाई मुख्य छलफलका विषयका रूपमा समेटिएको थियो।
पहिलो चरणको प्यानल छलफलमा स्थानीय पत्रिका “र्यामब्लर” का प्रकाशक जोन स्टार्कि, सञ्चार विज्ञ रोबर्ट वोलर, टेक्सास ह्युस्टन क्षेत्रकी व्यावसायिक पत्रकारिता समाजकी संयोजक रुथ नसरुल्ला, ‘द टेक्सास ट्रिब्युन’ का सम्पादक निक गार्सिया र अस्टिन लिउटरले विविधता र समुदाय संम्वन्धि विषयमा सञ्चार क्षेत्रको भूमिकाबारे आफ्ना धारणा व्यक्त गरेका थिए। त्यसैगरी दोस्रो चरणको छलफलमा “विश्व सञ्चार जगतमा नेपालको उपस्थिति, प्रतिनिधित्व र विश्वव्यापी दृष्टिकोणमा नेपाली सञ्चार क्षेत्र” विषयमा प्रकाश आचार्य, यशोदा तिम्सिना, प्रमोद आचार्य, टंक ढकाल र राजन कुइँकेलले आफ्ना विचार प्रस्तुत गरेका थिए। तेस्रो चरणको प्यानल छलफलमा प्रोफेसर इन्द्रजीत सुलेजा र मुजिब काजीले सामुदायिक सञ्चार व्यवस्थापन विषयमा आफ्ना धारणा राखेका थिए।
वार्षिकोत्सवको दोस्रो दिन नेपालमा प्रवासी लगानीसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो, जसमा नेपाली व्यवसायी र सञ्चारकर्मीहरूको संयुक्त छलफललाई नेपाली राजदूतावासले सहजीकरण गरेको थियो। कार्यक्रममा अमेरिकामा रहेका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्दै वर्तमान अवस्थाबारे जानकारी दिइएको थियो भने लगानीको वातावरण सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो। यस अवसरमा व्यवसायीहरूले नेपालमा विदेशी लगानी आकर्षित गर्न विदेशी नागरिकता लिएका नेपालीहरूलाई सम्पत्तिको अधिकार सुनिश्चित गर्न माग गरेका थिए। कार्यक्रममा बोल्दै तेस्रो आँखा अनलाइन मिडियाका प्रकाशक डिवी रावतले आफू नेपालमा ‘सेफ राइड’ कम्पनी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिँदै विभिन्न प्रशासनिक जटिलताका कारण समस्या भइरहेको उल्लेख गरे। उनले बैंकिङ प्रक्रिया सहज बनाउन माग गरेका थिए। सरकारका तर्फबाट समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै कन्सुलेट जनरल सुरेश अधिकारी र कार्यवाहक राजदूत शरदराज आरणले नेपाली व्यवसायीहरूलाई सक्दो सहयोग गर्ने र अनुकूल वातावरण निर्माण गर्न सक्दो पहल गर्ने बताएका थिए। कार्यक्रमको समापन गर्दै नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाको बार्षिकोत्सव मनाउने परंम्परागत तरिकालाई वदलेर नयॅा ढंगबाट अधि बढिएकोले आउदा दिनमा यस्ता कार्यक्रमलाई सुधार सहित शसक्त गर्दै लैजाने प्रतिवद्दता व्यक्त गरेका छन ।
नारायण भण्डारी
