करिब एक मिलियन डलर जति भ्रष्टाचार भएको आशंका
पशुपतिनाथ मन्दिर बनेसँगै अमेरिकाको टेक्सास राज्यको राजधानी शहर अस्टिन वरपर बसोबास गरिरहेका नेपालीहरूबीच गहिरो मनमुटाव देखिएको छ। ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूले सन् २०१३ मा “ग्रेटर अस्टिन नेपाली समाज” नामक संस्था स्थापना गरेका थिए। ग्रेटर अस्टिन क्षेत्रमा टेक्सासको राजधानी शहर अस्टिन वरपर रहेका १९ वटा काउन्टीहरू समावेश छन्। यहाँ करिब १५ हजार नेपालीभाषी बसोबास गरिरहेको अनुमान गरिन्छ।
यही ग्रेटर अस्टिन नेपाली समाज (GANS) मार्फत यहाँ बसोबास गरिरहेका नेपालीहरूबाट दान–चन्दा संकलन गरी अस्टिन शहर नजिकैको हट्टोमा पशुपतिनाथ मन्दिर निर्माण सम्पन्न गरिएको थियो। यहाँ नेपाली हिन्दुहरूका आराध्यदेव भगवान शिवको पशुपतिनाथ स्वरूपमा परम्परागत प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ। यो मन्दिरले नेपालको काठमाडौंमा अवस्थित विश्वप्रसिद्ध ऐतिहासिक पशुपतिनाथ मन्दिरकै आकृतिको झल्को दिन्छ। त्यसैले यो मन्दिरले संसारभर छरिएर रहेका नेपालीभाषी हिन्दुहरूको प्रशंसा बटुलेको छ।
मन्दिरको निर्माण सन् २०२० मा सुरु भई २०२४ मा सम्पन्न भएको थियो। भगवान शिवको विशेष पूजा–आराधना हुने दिन महाशिवरात्रि पर्वको अवसर पारेर मन्दिरको उद्घाटन ८ मार्च २०२४ मा स्थानीय हट्टो सिटी काउन्सिलका मेयर माइक स्नाइडरले पानसमा बत्ती बालेर गरेका थिए। सो अवसरमा ग्रेटर अस्टिन क्षेत्रकै सेडर पार्क सिटी काउन्सिलका मेयर जिम पेनीमेन मोरिनको पनि उपस्थिति रहेको थियो।
मन्दिर उद्घाटन भएको करिब डेढ महिनापछि २८ अप्रिल २०२४ मा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनका अवसरमा दिइएको जानकारीअनुसार तत्कालीन अवस्थासम्म पशुपतिनाथ मन्दिर निर्माण गर्न ६ लाख ३३ हजार ९ सय ८१ डलर बैंकमार्फत र नगदमा १ लाख २१ हजार १ सय ४४ डलर गरी कुल ७ लाख ५५ हजार १ सय २५ डलर खर्च भएको जानकारी दिइएको थियो। सोही अवसरमा दिइएको जानकारीअनुसार २०२४ अप्रिल २६ सम्म संस्थाको आम्दानी १३ लाख ३१ हजार ३ सय ३४ डलर भएको थियो।
मन्दिर बनिसकेपछि भएको संस्थाको पाँचौँ अधिवेशनमा सभाहलबाट सुरु भएको स्थानीय ट्रस्टी सदस्यहरू र संस्थाका पदाधिकारीहरूबीचको विवाद यतिबेला चरम अवस्थामा पुगेको छ। अधिवेशन हलमा संस्थाले मन्दिर निर्माण गर्दा भएको खर्च सदस्यहरूले पारित गर्न मानेनन्। तर तत्कालीन ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्ट, निर्माण समिति संयोजक गेहेन्द्र केसी, उपसंयोजक देवराज न्यौपाने तथा महासचिव विदुर खतिवडाले संस्थाका सदस्यहरू र ट्रस्टीहरूको मानमर्दन गर्दै संस्थाको आर्थिक प्रतिवेदन पारित भएको घोषणा गरेका थिए।
साथै उनीहरूले हलमा छलफलसमेत हुन नदिई मन्दिर सञ्चालक समितिमा कमल अधिकारीलाई चयन गरिएको घोषणा गरेका थिए। यसरी एकपछि अर्को गर्दै संस्थापन पक्षले ट्रस्टी र संस्थाका सदस्यहरूमाथि गरेको दुर्व्यवहार अहिले उत्कर्षमा पुगेको छ।
यही मे महिनाको २४ गते हुन गइरहेको संस्थाको छैटौँ अधिवेशनसम्म आइपुग्दा संस्थापन पक्ष र ग्रेटर अस्टिन नेपाली समाजका सदस्य एवं पशुपतिनाथ मन्दिरका ट्रस्टी सदस्यहरूबीच अहिले पानी बाराबारको स्थिति उत्पन्न भएको छ। संस्थाको नेतृत्व पक्षले आम सदस्यहरूमाथि गर्ने व्यवहार अपमानजनक रहेको सदस्य र ट्रस्टीहरूको भनाइ छ।
यसका उदाहरणहरूमा संस्थाले कतिपय सदस्य र ट्रस्टीहरूलाई संस्थाको फेसबुक पेजमा ब्लक गरेको छ। कतिपय सदस्यलाई मन्दिर जान प्रतिबन्ध लगाउँदै ट्रेसपास दिइएको छ। कतिलाई मेसेन्जरमा दुर्व्यवहार गर्दै अश्लील गालीगलौज गरिएको छ। एकलौटी विधान बनाएर आफूहरू लगायत केही मानिसबाहेक सर्वसाधारणलाई मन्दिर र संस्थाका उच्च पदमा पुग्न प्रतिबन्ध गरिएको छ। कार्यालयभित्र हुने सार्वजनिक कार्यक्रमहरूको फोटो खिच्न र रिपोर्टिङ गर्न सञ्चारकर्मीहरूलाई समेत प्रतिबन्ध गरिएको छ।
यसबाट संस्थामा समाजसेवाको नाममा ठूलो भ्रष्टाचार भइरहेको स्पष्ट अनुमान गर्न सकिन्छ। किनभने हट्टो क्षेत्रमा अहिले पनि तीनदेखि पाँच लाख डलरमा यस्ता घरहरू किन्न पाइन्छ भने आफ्नै जग्गामा यो मन्दिर बनाउन कति पैसा लाग्छ होला, तपाईंहरू आफैँ अनुमान लगाउन सक्नुहुन्छ। घरजग्गा कारोबार गर्ने एजेन्टहरूका अनुसार त्यो मन्दिरको निर्माण खर्च बढीमा दुई लाख डलरसम्म लाग्न सक्छ। अब तपाईंहरू आफैँ विचार गर्नुहोस् त, त्यो पशुपतिनाथ मन्दिर बनाउँदा कति भ्रष्टाचार गरेका रहेछन् ? “GANS को जग्गा खरिदको बेलादेखि नै भ्रष्टाचार सुरु भएको र “करिब एक मिलियन डलर बराबरको भ्रष्टाचार भएको आशंका छ।”
त्यही भ्रष्टाचार लुकाउन उनीहरू कुनै पनि हालतमा नयाँ र इमानदार मानिसलाई सञ्चालक समितिमा आउन दिँदैनन्। त्यसका लागि उनीहरूले संस्थाको विधानलाई आफ्नो इच्छाअनुसार फेरबदल गरिरहन्छन्। विधान बनाउने नियम, विधि र पद्धतिबारे उनीहरूलाई कुनै मतलब छैन। संस्थाको विधान उनीहरूले आफ्नो अनुकूलताअनुसार एउटा रफ कागजजस्तै सच्याइरहन्छन्। त्यही विधानअनुसार फेरि देवराज न्यौपानेले आफूलाई बोर्ड अफ ट्रस्टीको प्रमुखमा निर्वाचित भएको घोषणा गरेका छन्।”
जबकि सत्य के हो भने उनीहरूले मन्दिर बनाउन चन्दा पनि दिएका छैनन्, किनकि उनीहरूले चन्दा दिएका कुनै प्रमाण अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। आराध्यदेव श्री पशुपतिनाथको मन्दिरलाई कमाउने थलो बनाइएको छ। अमेरिका जस्तो देशमा आएर पनि बुद्धि नफर्किएका केही मानिसहरूले तिनै भ्रष्टाचारीहरूको जयजयकार गर्छन्। धिक्कार छ ती दास मानसिकता भएका पिछलग्गुहरूलाई।
विधानसम्बन्धी विषयमा भइरहेको छलफलमा भिडियो र फोटो खिच्न मलाई पनि रोक्न खोजिएको थियो, तर मैले त्यसको प्रतिवाद त्यतिबेलै गरेको थिएँ। ती फोटो र भिडियोहरू अझै पनि मसँग सुरक्षित छन्।
मनमुटाव र विभाजन हुनुका केहि मुख्य कारणहरू
ग्रेटर अस्टिन नेपाली समाज, जसलाई अंग्रेजीको छोटकरीमा GANS भनिन्छ, यो संस्थाले मन्दिर निर्माण सुरु नगर्दासम्म संस्थामा पदको प्रतिस्पर्धाबाहेक ठूलो विवाद थिएन। अस्टिनमा पशुपतिनाथको मन्दिर निर्माण भएलगत्तै यहाँको नेपाली समाजमा मनमुटाव बढ्नुका धेरै कारणहरू भए पनि सतहमा देखिएका केही मुख्य कारणहरू यहाँ चर्चा गर्ने प्रयास गरिएको छ।
(१) पाँचौँ अधिवेशनका समयमा मन्दिर निर्माणमा लागेको कुल लागत र आम्दानीको यथार्थ विवरण आउला भन्ने अधिकांश सदस्यहरूलाई लागेको थियो। तर त्यतिबेला संस्थाको आर्थिक विवरण निकै छरपस्ट थियो। ट्रस्टी र चन्दादाताले दिएको रकमको कुनै अभिलेख प्रक्रियामा राखिएको पाइएन। को–को ट्रस्टी बने, कसले कति पैसा दियो भन्ने हिसाबसम्म पनि समितिलाई स्पष्ट थिएन। कतिपय चन्दादाता र ट्रस्टी सदस्यले नगद पैसा दिएका थिए। कानुनी झन्झटले नगदमा भएको आम्दानी र खर्चको रकम हिसाब मिलानकै प्रक्रियामा भएकोले हिसाब चित्तबुझ्दो देखिएन। मन्दिरका लागि चाहिने अधिकांश सामान नेपालबाट ल्याइएका थिए। नेपालमा खरिद गरी ल्याइएका सामानका खरिद प्रक्रिया, दरभाउ, भुक्तानी र सिपिङ प्रक्रिया पारदर्शी थिएनन्। त्यसकारण नेपालबाट ल्याइएका सामानका खरिद प्रक्रिया र सिपिङ खर्च पारदर्शी छैनन् भन्ने अधिकांश ट्रस्टी र सदस्यहरूलाई लागेको छ।
(२) मन्दिर बनाएपछि तत्कालीन समितिका पदाधिकारी र निर्माण समितिलाई “कसैले गर्न नसक्ने काम हामीले गर्यौँ, अब यो संस्थाको नेतृत्वमा हाम्रो एकाधिकार हुनुपर्छ” भन्ने अभिमानले उनीहरूले मन्दिर बनाउन लाखौँ रुपैयाँ दान–चन्दा दिने संस्थाका सदस्यहरू र ट्रस्टी सदस्यहरूलाई बेवास्ता गरे। कार्यसमितिमै रहेर काम गरेका साथीहरूका अनुसार मुख्य पदमा रहेका पदाधिकारीहरूले खर्चका विषयमा कहिल्यै सदस्यहरूसँग खुला छलफल गरेनन्। संस्थाको पैसा खर्च गर्ने कुरामा समिति र निर्माण समितिका केही मानिसहरूबीच मात्र सहमति भए पुग्थ्यो।
(३) पशुपतिनाथ मन्दिर निर्माण गर्न स्थानीय ट्रस्टीहरूले एक हजार डलरदेखि एक लाख डलरसम्म दान दिएका छन्। सबैको सानो–ठूलो आर्थिक योगदानले यहाँ मन्दिर निर्माण सम्भव भएको तथ्यलाई कसैले नकार्न सक्दैन। तर संस्थागत निर्णय प्रक्रियामा तिनै चारजनाको (संस्थाका पूर्व अध्यक्ष, महासचिव तथा निर्माण समितिका संयोजक र उपसंयोजक) एकाधिकारले संस्थाका अधिकांश मानिसलाई राम्रो लागेन। यो मनपरी यतिसम्म थियो कि ट्रस्टीहरूको छलफलबाट मन्दिर सञ्चालक संयोजक चुनिनुपर्ने वैधानिक व्यवस्था हुँदाहुँदै पनि त्यसमा एकजना ट्रस्टीले समेत छलफलमा भाग लिन पाएनन्।
(४) विधान संशोधनमा एकाधिकार हुँदा सरोकारवाला सदस्यहरू र ट्रस्टीहरूको संस्था प्रतिको आस्था टुट्ने अवस्थामा पुगेको छ। समाजको पैसाले संस्था चल्ने तर त्यो संस्था कसरी राम्रो बनाउने भन्ने विषयमा सदस्यहरूले आफ्नो विचार व्यक्त गर्न नपाउने, व्यक्त गरे पनि त्यसको सुनुवाइ नहुने कारण संस्थापनसँग सदस्यहरूको ठूलो अन्तर्विरोध सिर्जना भएको छ। वास्तवमा एक पक्ष यो संस्था सबैलाई समेट्ने, सुलभ र प्रभावकारी बनोस् भन्ने चाहन्छ, तर त्यसो नहुँदा विरोधका स्वरहरू बाहिर आएका छन्।
(५) पशुपतिनाथ मन्दिर बनेपछि ईश्वरको प्रभावले मानिस त्यागी, सहयोगी र दानी बन्नुपर्ने अपेक्षा राखिन्छ। तर आम मानिसले गरेको सहयोग रकमबाट पशुपतिनाथ मन्दिर तयार भए पनि आज त्यो मन्दिरमा अस्टिनका सबै मानिस जम्मा भएर पूजापाठ गर्ने सम्भावना न्यून भएको छ। यतिसम्म अविश्वास पैदा भएको छ कि मन्दिरमा कुनै सार्वजनिक कार्यक्रम हुँदा संस्थापनले दुई तहका सुरक्षाकर्मीको व्यवस्था गर्ने गरेको छ। स्थानीय प्रहरी कार्यक्रमस्थल वरिपरि र निजी कम्पनीका सुरक्षाकर्मी मञ्चमा राखिने गरेका छन्। योभन्दा ठूलो अविश्वास र मनमुटाव अर्को के हुन सक्छ?
संस्थाको साझा फेसबुक पेजमा कैयौँलाई ब्लक गरिएको छ भने केही ट्रस्टीलाई मन्दिर परिसरमा आउनसमेत कानुनी प्रतिबन्ध (ट्रेसपास) दिइएको छ। आफ्नो गाँस काटेर दिएको चन्दाले आफ्नै समाजबाट टाढा हुने अवस्था सिर्जना हुनु धर्ममाथिको ठूलो मजाक र धर्मको नाममा व्यापार हो।
(६) हाल मन्दिरलाई एकाधिकार तरिकाले कब्जा गरेर बसेका अथवा देउबा, ओली र प्रचण्डले जस्तै ‘म्युजिकल चेयर’ खेलिरहेका देवराज न्यौपाने, गेहेन्द्र केसी, भोजराज भट्ट र विदुर खतिवडाको समूहले किस्ताबन्दीमा पैसा तिरेर ट्रस्टी बन्ने प्रक्रियामा रहेका कैयौँ मानिसलाई मन्दिरको समिति निर्माणका लागि गरिने निर्वाचनमा मताधिकारबाट वञ्चित गरिदिएका छन्। न त उनीहरूले पैसा फिर्ता दिन्छन्, न त मताधिकार प्रयोग गर्न दिन्छन्।
मन्दिरको नाममा यस्तो तानाशाही शासन कम्युनिस्टहरूको एकाधिकार भएको देश उत्तर कोरिया र रुसमा पनि छैन भन्न सकिन्छ। अमेरिका जस्तो महान् प्रजातान्त्रिक देशमा बसेका मानिसमाथि यस्तो कम्युनिस्ट तानाशाहजस्तो जर्जर कानुन लाद्नु भनेको प्रजातन्त्र र आर्थिक स्वतन्त्रताको खिल्ली उडाउनु हो। मन्दिरमा मनलाग्दी कानुन लगाएर ट्रस्टीलाई भोट हाल्न रोक लगाउने तानाशाहले अमेरिकी स्वतन्त्रताको फाइदा उठाउँदै आफू बस्ने घर ३० वर्षे किस्तामा लिएको छ। यहाँ मन्दिरको सदस्य बन्न अमेरिकाभन्दा ठूलो कानुन लगाइएको छ।
(७) ग्रेटर अस्टिन नेपाली समाज (GANS) को आगामी मे २४ मा हुन लागेको चुनावमा अध्यक्ष पदमा दर्ता गरिएका दुई उम्मेदवारमध्ये एक उम्मेदवार रामकुमार महतोले आफ्नो फेसबुकमा स्टाटस हालेर आफूले उम्मेदवारी फिर्ता लिएको जनाए पनि निर्वाचन समितिले त्यसलाई मान्यता नदिई उनकै नाममा चुनाव गराएर जित्ने र उनको ठाउँमा जबर्जस्ती फेरि आफू नै अध्यक्ष हुने उद्देश्य राखेको आरोप लगाइएको छ।
डिबि रावत
