टोकियो, जापान। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापानको संयुक्त आयोजनामा आगामी १२ जुलाई २०२६ (आइतबार) टोकियोमा २१३औँ भानु जयन्तीको अवसरमा‘भानु उत्सव–२०८३’ आयोजना हुने भएको छ। कार्यक्रम सिनओकुबो स्थित सोलमारी मुरा हलमा दिउँसो १२:३० बजेदेखि सञ्चालन हुनेछ।
आयोजकका अनुसार कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिप्रति समर्पित विशेष साहित्यिक उत्सवका रूपमा आयोजना गरिँदैछ। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका रचनावाचन, पुस्तक विमोचन, खुला रचना वाचन तथा साहित्यिक प्रस्तुति समावेश गरिनेछ। जापानभर रहेका नेपाली साहित्यकार, स्रष्टा, विद्यार्थी, बुद्धिजीवी तथा भाषा–संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका अमर व्यक्तित्व हुन्। उनले संस्कृत भाषामा रहेको रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गरी नेपाली भाषालाई जनजनसम्म पुर्याउने ऐतिहासिक योगदान दिएका थिए। उनका कृतिले नेपाली भाषालाई साझा अभिव्यक्तिको माध्यम बनाउँदै राष्ट्रिय एकता, साहित्यिक चेतना र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। त्यसैले हरेक वर्ष मनाइने भानु जयन्ती केवल एक साहित्यकारको जन्मजयन्ती मात्र नभई नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानप्रतिको सम्मानको प्रतीकका रूपमा लिइन्छ। भानुभक्त आचार्यको योगदानकै सम्मानस्वरूप हरेक वर्ष असार २९ गते नेपाल तथा विश्वभर रहेका नेपाली समुदायले भानु जयन्ती मनाउने परम्परा रहेको छ। आज पनि उनका कृतिहरू विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गरिन्छन्।
अनेसास जापानले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई जीवन्त राख्न निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । आयोजक संस्थाहरूले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई यस ऐतिहासिक अवसरलाई भव्य र सभ्य बनाउन हार्दिक अनुरोध गरेका छन्।
आदिकवि भानुभक्त आचार्यबारे महत्वपूर्ण जानकारी :-
पूरा नाम: आदिकवि भानुभक्त आचार्य
जन्म: वि.सं. १८७१ असार २९ गते, चुँदीराम्घा, तनहुँ
निधन: वि.सं. १९२५ असोज पिता: धनञ्जय आचार्य, हजुरबुवा: श्रीकृष्ण आचार्य (संस्कृतका विद्वान, जसबाट भानुभक्तले प्रारम्भिक शिक्षा पाए)
परिचय: आधुनिक नेपाली साहित्यका प्रथम महाकवि तथा ‘आदिकवि’।
उपाधि पाउनुको कारण: नेपाली भाषामा पहिलोपटक उत्कृष्ट काव्य सिर्जना गरी साहित्यलाई जनस्तरसम्म पुर्याएको योगदानका कारण मोतीराम भट्टले उनलाई ‘आदिकवि’को उपाधि दिएका हुन्।
विशेष योगदान: संस्कृत भाषाको रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गरी नेपाली भाषालाई जनभाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेले।
भाषा शैली: सरल, मिठासपूर्ण, लयात्मक र जनसाधारणले सहजै बुझ्ने।
भानुभक्त आचार्यका प्रमुख कृतिहरू-भानुभक्तीय रामायण (सबैभन्दा प्रसिद्ध कृति), बधूशिक्षा, प्रश्नोत्तर,भक्तमाला, रामगीता, घाँसी कविता (अत्यन्त चर्चित कविता)
घाँसी’ कविताको विशेष महत्व:- एउटा साधारण घाँसीले सार्वजनिक हितका लागि इनार खनेको देखेपछि भानुभक्तलाई समाजका लागि केही गर्न प्रेरणा मिलेको मानिन्छ। यही कविताले समाजसेवा, परोपकार र अमर कर्मको सन्देश दिन्छ।
भानुभक्तको साहित्यिक योगदान
नेपाली भाषालाई साहित्यिक भाषाका रूपमा स्थापित गरे।
नेपाली साहित्यमा मौलिक काव्य परम्पराको विकास गरे।
धार्मिक ग्रन्थलाई जनभाषामा अनुवाद गरेर आम नागरिकसम्म ज्ञान पुर्याए। नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानको विकासमा अतुलनीय योगदान दिए।
बिरेन्द्र पौडेल
