• ट्रेण्डिङ्ग :
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान


  • 1.2K
    SHARES
    • आषाढ ३१, २०८३ बुधबार
    • २ महिना अघि
    • 1.8K Views

    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

    काठमाडौँ,  असार ३१  ।  मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।

    images

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताउनुभयो ।

    विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको विभागको भनाइ छ ।

    अधिकारीका अनुसार हिमाली र तराई भूभागमा अहिले सामान्यदेखि पूर्ण बदली छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा बझाङमा ५४।८ मिलीमिटर मापन भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक आसपास तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ ।

    मौसमविद् अधिकारीका अनुसार आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि मधेस प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान छ ।

    विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास, पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । रासस


    तेस्रो आँखा