दाङ, साउन ९ । तुलसीपुर उपमहानगरपालिका–१० स्थित गौरीगाउँ ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको प्रचुर सम्भावना बोकेको गन्तव्य हो । तर प्रचारप्रसारको अभाव, भौतिक पूर्वाधार र योजनाबद्ध विकास हुन नसक्दा यो ताल अझै पर्यटकको पर्खाइमै छ ।
तुलसीपुर बजारदेखि करिब पाँच किलोमिटर दक्षिणमा रहेको गौरीगाउँ ताल पुग्ने जो–कोहीलाई यसको शान्त वातावरण, हरियाली र मनोरम दृश्यले आकर्षित गर्नसक्छ । तर, सम्भावना अनुसार प्रचार हुन नसक्दा तालमा पर्यटकको आवागमन न्यून रहेको स्थानीय बताउँछन् । करिब आठ बिघा क्षेत्रफलमा फैलिएको तालको आफ्नै ऐतिहासिक पहिचान रहेको स्थानीय तुलसीपुर १० गौरीगाउँका सवि थारूले बताउनुभयो । “प्राकृतिक रूपमा निकै सुन्दर भए पनि यसको पर्याप्त प्रचार हुन सकेको छैन,” उहाँले भन्नुभयो । उहाँको अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र जलसम्पदालाई एकसाथ जोड्न सकिने भएकाले उचित लगानी र व्यवस्थापन भए गौरीगाउँ ताल दाङकै प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्छ ।
तालको बिचभागमा करिब एक करोड रुपियाँको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न करिब ४५ मिटर लामो पुलसमेत बनाइएको छ । धार्मिक आस्थाका कारण विशेषगरी दसैँका बेला यहाँ दर्शनार्थीको उल्लेख्य भीड लाग्ने सोही वडाका वडा अध्यक्ष यमबहादुर केसीले बताउनुभयो । उहाँको अनुसार तालमा व्यावसायिक रूपमा माछापालनसमेत हुँदै आएको छ । स्थानीय तहको स्रोतले मात्र तालको समग्र विकास सम्भव नभएको वडा अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार तालको विकासका लागि करिब १४ करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । तर, प्रदेश सरकारअन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट १० लाख रुपियाँबाट हाल ताल वरिपरि पर्खाल निर्माण गर्ने काम मात्र भइरहेको छ ।
प्रदेश र सङ्घीय सरकारसँग पटक–पटक बजेट माग गरे पनि अपेक्षित सहयोग प्राप्त हुन नसकेको उहाँले गुनासो गर्नुभयो । हाल तालमा वार्षिक नौदेखि १० लाख रुपियाँमा माछापालनको ठेक्का दिइएको छ । सोही आम्दानीबाट तालको बीचमा शिवमन्दिर निर्माण, संरक्षण तथा सामान्य व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो । “गौरीगाउँ तालको पूर्वाधार विस्तार, प्रभावकारी प्रचारप्रसार र पर्याप्त लगानी गर्न सकिए यो दाङको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ,” अध्यक्ष केसीले भन्नुभयो ।
यता तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक योजना र बजेट व्यवस्थापनमा उपमहानगरपालिका लागिरहेको बताउनुभयो । प्रदेश सरकारसंग समन्वय गरी भौतिक पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइने उहाँको भनाइ थियो ।
गौरीगाउँ ताल प्राकृतिक सम्पदा, धार्मिक पर्यटन र स्थानीय आयआर्जनलाई एकैसाथ जोड्न सक्ने सम्भावना बोकेको स्थल हो । तर, आवश्यक लगानी, पूर्वाधार र प्रभावकारी प्रवर्द्धनको अभावमा यसको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन । पर्यटकको रोजाइ बन्न सक्ने आधार हुँदाहुँदै पनि गौरीगाउँ ताल अहिले विकास र प्रवर्द्धनको पर्खाइमा छ ।
