इश्वरी न्यौपाने, सान् फ्रान्सिस्को
अमेरिका नेपाली जन सम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा सान् फ्रान्सिस्कोमा बी पी जयन्ती मनाईएको छ । सो अबसरमा वृक्षारोपण, सम्मान र अन्तर्क्रिया कार्यक्रम गरिएको हो । रिचमण्डस्थित नेपाली कम्युुनिटी सेण्टर परिसरभित्र वृक्षारोपण गरिएको थियो । पण्डित चक्रपाणी अर्यालले मन्त्र उच्चारण गरी जन सम्पर्कका अगुवाहरुले बिरुवा रोपेका थिए । जन सम्पर्क समितिको अभियानामा योगदान दिनु भएका विद्यासागर योञ्जन र उत्तम कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जन सम्पर्क समिति अमेरिकाका संयोजक धनञ्जय नरसिंह केसीले बीपीको भावना अनुसार काँग्रेसलाई अघि बढाउन सके नेपालमा लोकतन्त्र र बिकासको जन सम्पर्क समितिको अधिवेशन जसरी पनि अगष्ट १४, १५, १६ मा भर्जिनियामा सम्पन्न हुने जानकारी दिनुभयो । अधिवेशनले नयाँ मानिस जोडेर संगठनलाई प्रभावकारी बनाउने केसीको भनाई थियो । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन समितिका प्रमुख भक्त थापाले अहिलेको अवस्थामा अधिवेशनस्थलमा जति धेरै प्रतिनिधिहरु पुगेर निर्वाचनमा भाग लिनुहुन्छ, त्यती नै अधिवेशन सफल हुन्छ भन्नुभयो । उहाँले सबैलाई भर्जिनियामा भेट हुन आग्रह गर्नुभयो । जन सम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष हरी भट्टको सभापतित्वमा भएको प्रवचनमा नेपाली कांग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका निवर्तमान अध्यक्ष डा. घनश्याम भट्टराई, जन सम्पर्क समिति अमेरिका पूर्व उपाध्यक्ष चन्द्र धिताल, हर्कुलिस सिटीका काउन्सुलर सदस्य डिल्ली भट्टराई तथा प्राध्यापक आमोद पोखरेल लगायतले मन्तव्य राखेका थिए । सम्मानित व्यक्तित्वहरु विद्यासागर योञ्जन र उत्तम कार्की, नेपाली एशोशियशन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष प्रितेश कार्की, मुक्तिनाथ धामका अध्यक्ष राजेश थापा, नेता बिजय चौधरी जन सम्पर्क ससमितिका बरिष्ठ उपाध्यक्ष बिनोद पुन मगर, सचिव ध्रुब दाहालले वीपीको व्यक्तित्वमाथी प्रकाश पार्नु भएको थियो ।
इश्वरी न्यौपाने
