• ट्रेण्डिङ्ग :
मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने


  • 11.1K
    SHARES
    • श्रावण १७, २०८३ आइतबार
    • १ महिना अघि
    • 17.1K Views

    मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ, साउन १७ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। 

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना  छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

    त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै  र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ ।

    महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी  सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ । रासस

     


    तेस्रो आँखा