मकवानपुर, भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मङ्गलबार बिहान करिब ७ बजे भएको दुर्घटनामा घाइतेमध्ये चार जनालाई थप उपचारका लागि काठमाडौँस्थित छाउनी अस्पताल पठाइएको थियो । तीमध्ये ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले लक्ष्मी बडुको छाउनी अस्पतालमा उपचारका क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार शव अस्पतालमै राखिएको छ ।
लक्ष्मी बडु उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुनुहुन्छ ।
हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत जुरिखेतमा काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका थिए ।
उक्त गाडीमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित छ जना सवार रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा गाडी चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी तथा दाङकै तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय मुख्य न्यायाधीश गोकर्ण डाँगी घाइते हुनुभएको छ ।
यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय रजिस्ट्रार तारादत्त बडु, उहाँका २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रीता बडु पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक चौधरी र रजिस्ट्रार बडुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो ।
प्रहरीका अनुसार स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । घाइतेको उद्धार गरी प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो ।
दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
