• ट्रेण्डिङ्ग :
विचार
भोटेकोशी बाढीको ताण्डव: आँखाले देखेको त्यो कहालीलाग्दो यात्रा

भोटेकोशी बाढीको ताण्डव: आँखाले देखेको त्यो कहालीलाग्दो यात्रा


  • 2.5K
    SHARES
    • भाद्र १३, २०८३ शनिबार
    • २ हप्ता अघि
    • 3.9K Views

    भोटेकोशी बाढीको ताण्डव: आँखाले देखेको त्यो कहालीलाग्दो यात्रा

    काठमाडौँ, भदौ १३ गते । बुधबार बिहान करिब नौ बजेको थियो। अचानक सामाजिक सञ्जालमा रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित बाढीका भिडियो र तस्बिर एकपछि अर्को गर्दै देखिन थाले। नदी उर्लिएको थियो, बस्तीहरू डुबेका थिए, सडक र संरचना बगिरहेका थिए। ती दृश्य हेर्दाहेर्दै मन अस्थिर भयो।

    images

    त्यही बेला कार्यालयबाट फोन आयो।

    प्रधान सम्पादक जुनारबाबु बस्नेत र कार्यकारी सम्पादक उमेशराज ओझाले तत्काल कार्यालय आउन भन्नुभयो। हतारिँदै कार्यालय पुगेँ। त्यहाँ गोरखापत्र संस्थानका महाप्रबन्धक हिम्मतबहादुर रावलसहित विभागीय प्रमुखहरूको आकस्मिक बैठक चलिरहेको थियो।

    भोटेकोशीले मच्चाएको विनाशको स्थलगत रिपोर्टिङका लागि पत्रकारहरूलाई विभिन्न क्षेत्रमा खटाउने निर्णय हुँदै थियो। केही साथी स्थलमार्गबाट नुवाकोट र त्रिशूलीतर्फ लाग्नुभयो। म भने खोज तथा उद्धारमा परिचालित संयन्त्रसँग समन्वय गरी तत्कालका सूचना, उद्धार र राहतका विवरण संकलन गर्दै समाचारको पृष्ठभूमि तयार गर्न थालेँ।
    मन भने भोटेकोशीमै थियो।

    भोलिपल्ट बिहान कार्यालय समयअगावै फेरि फोन आयो, “तपाईं स्थलगत रिपोर्टिङमा जानुपर्ने भयो। तत्काल तयार भएर विमानस्थल पुग्नुहोला।”

    केही बेरमै तयारी गरेँ। दुई–चार चम्चा खाना खाएर विमानस्थलतर्फ दौडिएँ। हेलिकोप्टर तयारी अवस्थामा थियो। नेपाल टेलिभिजनका सहकर्मी र दुई जना विदेशी पत्रकारसहित हामी रसुवातर्फ उड्यौँ। हेलिकोप्टरको झ्यालबाट तल देखिएको भूगोलले मेरो मनमा बनेको अनुमान केही मिनेटमै बदलिदियो।

    यसअघि मेलम्चीको बाढीको स्थलगत रिपोर्टिङ गरेको थिएँ। भोटेकोशीको अवस्था पनि त्यस्तै होला भन्ने लागेको थियो। तर त्रिशूलीको बट्टार पार गरेर भोटेकोशीको बहाव पछ्याउँदै माथितिर जाँदा दृश्य झन् भयावह हुँदै गयो।

    तटीय क्षेत्रभन्दा निकै माथिसम्म बाढीको निशान थियो। खेतीयोग्य जमिन बगर बनेको थियो। भौतिक संरचना छिन्नभिन्न थिए। जलविद्युत् आयोजनाका संरचना क्षतिग्रस्त थिए। पासाङल्हामु राजमार्गका कतिपय भागको नामोनिसान थिएन।

    सबैभन्दा डरलाग्दो कुरा–नदी आफ्नो किनारमा मात्र थिएन। बस्ती र संरचनाभन्दा निकै माथिबाट बगेको थियो। हेलिकोप्टरको आवाजभित्रै मनमा अनेक प्रश्न उठिरहेका थिए।

    यत्रो क्षति मुलुकले कसरी धान्ला? यी उजाड बस्तीका मानिस कहाँ पुगे होलान्? कस्तो अवस्थामा भेटिएलान् कि नभेटिएलान्? सडकमा गुडिरहेका सवारीसाधन र त्यसमा सवार यात्रुहरू कहाँ होलान्?

    मानवीय क्षतिको वास्तविक विवरण सार्वजनिक हुँदा हामी आफैँ सम्हालिन सकौँला?

    मन भारी हुँदै गयो। तर म रिपोर्टर थिएँ। भावनाले होइन, तथ्यले बोल्नुपर्ने थियो। आफूलाई सम्हाल्दै नोटबुक र क्यामेरातर्फ ध्यान दिएँ। हेलिकोप्टर धुन्चेतर्फ मोडिँदै थियो। पाइलटले सोध्नुभयो, “रसुवागढीसम्म पुगौँ?”

    सहयात्री नेपाली सेनाका प्रमुख सेनानी कमल केसीको अनुमतिले हामी स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फ लाग्यौँ।

    रसुवागढी पुग्दा...
    रसुवागढी म पहिलो पटक पुगेको थिएँ। त्यो पनि हवाईमार्गबाट। तस्बिरमा भने मैले यो ठाउँ धेरै पटक देखेको थिएँ। मितेरी पुल, चीनतर्फका विशाल भवन र सीमावर्ती क्षेत्रको चहलपहल मानसपटलमा थियो। तर त्यो दिन रसुवागढी पुग्दा मैले तीमध्ये केही पनि देखिनँ।

    जहाँ भवन हुनुपर्ने हो, त्यहाँ बगर थियो। जहाँ मानिसको चहलपहल हुनुपर्ने हो, त्यहाँ सुनसान थियो। जहाँ सीमाको व्यापारिक गतिविधि हुनुपर्ने हो, त्यहाँ भोटेकोशीले छोडेको माटो, ढुङ्गा र भग्नावशेष मात्र थिए। चारैतिर बगरैबगर!

    त्यो दृश्य तस्बिरमा हेर्नु र आफ्नै आँखाले देख्नुबीच कति ठुलो अन्तर हुँदो रहेछ भन्ने त्यही दिन महसुस भयो।

    हेलिकोप्टर फेरि फर्कियो। हामी भोटेकोशीको बहाव पछ्याउँदै धुन्चेतर्फ आयौँ। धुन्चेको आकाशमा हेलिकोप्टरका ताँती थिए।

    धुन्चे पुग्दा अर्को दृश्यले स्तब्ध बनायो। नेपाली सेनाका हेलिकोप्टरसँगै निजी क्षेत्रका हेलिकोप्टर पनि भोटेकोशीको खोँचमा पुगेर उद्धार गरिरहेका थिए। एकपछि अर्को हेलिकोप्टर आउँथे। घाइते ओर्लन्थे। सुरक्षाकर्मी दौडिन्थे। स्वास्थ्यकर्मी स्ट्रेचर लिएर पुग्थे। फेरि अर्को हेलिकोप्टर आउँथ्यो र गम्भीर घाइतेलाई काठमाडौँतर्फ ल्याइन्थ्यो।

    दृश्य कुनै युद्धग्रस्त क्षेत्रको भन्दा कम थिएन।

    प्रकृतिको एउटा उग्र रूपले रसुवावासीको जीवन नै तहसनहस पारेको थियो। उद्धार गरिएका मानिसको अनुहारमा पीडा थियो। कतिपयले परिवारका सदस्य गुमाएका थिए। कोही आफैँ घाइते थिए। कसैका बालबच्चा बगेका थिए। कसैका बाबुआमा बगेका थिए।

    एकैछिनमा एउटा परिवारको संसार कसरी उजाडिन सक्छ भन्ने कुरा ती अनुहारले भनिरहेका थिए।

    बगरमा परिणत स्याफ्रुबेँसी
    स्थलगत रिपोर्टिङकै क्रममा हाम्रो हेलिकोप्टर स्याफ्रुबेँसीमा ओर्लियो। माथिबाट देख्दा नै सहर बगरमा परिणत भएको थियो। तल ओर्लिएपछि दृश्य अझ पीडादायी देखियो।

    भारतीय तथा अन्य विदेशी नागरिकले प्रयोग गरेका केही सवारीसाधन लामबद्ध अवस्थामा थिए। तर ती सवारीसाधनमा सवार मानिसहरू कहाँ पुगे भन्ने अत्तोपत्तो थिएन। स्थानीय चिन्तित देखिन्थे।

    प्रत्यक्षदर्शी स्थानीय भन्दै थिए, “सर, शवहरू माथि नै छरपस्ट छन्। दुर्गन्ध फैलिन थाल्यो। के गर्ने होला?”

    मसँग त्यसको तत्काल उत्तर थिएन। राज्य संयन्त्रले उद्धारलाई पहिलो प्राथमिकता दिएको थियो। त्यसपछि शवको खोजी, पहिचान र व्यवस्थापन। विपत्तिको आकार जति ठुलो थियो, चुनौती पनि उति नै ठुलो थियो।

    तर त्यसैबिच जीवनका केही कथा पनि सुनिन्थे–दुई वर्षका नाबालकलाई च्यापेर दौडिँदै ज्यान जोगाएका आमाबुबाका कथा, बाढीको भेलबाट मुस्किलले बाँचेका मानिसका कथा।

    ती कथा सुन्दा लाग्थ्यो–प्रकृति जति शक्तिशाली भए पनि मानिसको बाँच्ने चाहना त्योभन्दा कमजोर रहेनछ। तर परिवार नै गुमाएका बालबालिकाका अनुहार हेर्दा मन फेरि भारी हुन्थ्यो। त्यही रिपोर्टिङका क्रममा कतिबेला आँखामा आँसु आयो, थाहा भएन।
    त्रिशूलीको बट्टार फर्किएपछि...
    धुन्चेबाट फर्किएर हामी नुवाकोटको त्रिशूलीस्थित बट्टारमा रहेको नेपाली सेनाको ब्यारेक पुग्यौँ। त्यहाँ उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण भइरहेको थियो।

    प्रधानमन्त्री बालेन्द्र शाह, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, प्रधानसेनापति अशोकराज सिग्देललगायत विशिष्ट पदाधिकारी उद्धार तथा राहतबारे निर्देशन र समन्वयमा व्यस्त हुनुहुन्थ्यो।

    सुरक्षाकर्मीका कुरा सुन्दा थाहा भयो–बाढीले सूचना पाएको केही मिनेटमै आफ्नो बाटोमा आएको सबै कुरा तहसनहस बनाएको थियो।

    त्यसपछि फेरि मेरो मन रसुवागढी, स्याफ्रुबेँसी र धुन्चेतिर पुग्यो। सुगम र समथर ठाउँमा यति ठुलो क्षति भएको छ भने ती अनकन्टार खोँचमा मानिसहरूले कसरी ज्यान जोगाए होलान्?

    म फर्किएँ, तर दृश्यहरू फर्किएनन्
    हेलिकोप्टरबाट काठमाडौँ फर्किंदै गर्दा बाहिरको भूगोल विस्तारै टाढिँदै गयो। तर मेरो मन भने भोटेकोशीमै अड्किएको थियो।

    रसुवागढीको बगर। स्याफ्रुबेँसीको भग्नावशेष। धुन्चेको आकाशमा उडिरहेका हेलिकोप्टर। स्ट्रेचरमा ल्याइएका घाइते। आफन्त खोज्दै भौँतारिएका मानिस। परिवार गुमाएका बालबालिका। र बाढीबाट ज्यान जोगाएर पनि आँखामा भविष्यको अनिश्चितता बोकेका ती अनुहार।

    जीवन बचाउने सङ्कल्पमा सुरक्षाकर्मी
    बाढीले सडक, पुल, घर र संरचना मात्र बगाएको थिएन। बाढीको बिचमा केही मानिसका लागि राहत र भगवान्सरह सुरक्षाकर्मी बनेका थिए।

    सुरक्षाकर्मीले ज्यान जोखिममा राखेर उद्धार गरेका दृश्य देख्दा लाग्थ्यो–बेघर र बेसहारा भएका रसुवावासी एक्ला छैनन्, देश उनीहरूको साथमा छ।

    स्वास्थ्यकर्मी घाइतेको उपचारमा अहोरात्र खटिएका थिए। स्थानीयले अपरिचितलाई समेत आश्रय दिएका थिए।

    त्यसैले भोटेकोशीको त्यो यात्रा केवल विनाश हेर्ने यात्रा थिएन। यो मानिसले विपत्तिसँग लडेको, जीवनका लागि दौडिएको र मृत्युको मुखबाट फर्किएको संघर्षको साक्षी बन्ने यात्रा पनि थियो।

    हेलिकोप्टर काठमाडौँतिर फर्किरहँदा भोटेकोशी तल कतै बगिरहेको थियो।

    मलाई लाग्यो–नदी आफ्नो बाटोमा फर्किएला। बगर फेरि हरियाला। सडक फेरि बन्ला। घरहरू फेरि ठडिएलान्।

    तर त्यो बिहान भोटेकोशीले मानिसका मनमा छोडेको घाउ पुर्न कति समय लाग्ला?


     


    तेस्रो आँखा