छिप्पिँदै गरेको घामसँगै
मिसिन आउने विष्णुमतीको गन्धले
बाटोभरि विषाक्त हावा फालिरहेको थियो ।
भिमसेन थापाको धड्कन बन्द भएको
विष्णुमती बगर र
छेउमा टाँसिएर बसेका सुकुमबासी बस्ती
दुवै सिकिस्त विरामी झैं देखिन्थे ।
छाउनी सङ्ग्रहालयबाट आएका
मानव जस्तै देखिने आकृतिहरू
विष्णुमती पुलमा सडक नाटक मञ्चन गर्दै थिए ।
कालो कोटमा सजिएको एउटा सज्जन
सकम्बरीको सुसाइड नोटमाथि बहस गर्दै थियो...
त्यतिबेलै एउटा बहादुर रङ्गमञ्चमा पस्यो र भन्यो,
मेरो एक चुम्बनले
शिरीषको फूल आजसम्म फुलेको हो तर
मान्छेहरुले सुयोगवीरलाई चरित्रहीन बनाए ।
उसको आवाज
दुर्गन्धित हावाले पर परसम्म उडाइ लग्यो ।
खोलाको बगरबाट
भिमसेन थापाको हराएको टाउको
फुत्त बाहिर आयो र चिच्यायो,
कहिलेसम्म म म्युजियमभित्र छट्पटाउँदै बस्ने ?
मेरो दर्दनाक मृत्युको सुनुवाई कहिले हुन्छ श्रीमान् ?
अन्तिम दृश्य,
विष्णुमतीले रौद्र रुप धारण गर्यो
बस्तीमा भोट माग्न पुगेका हाम्रा प्रिय नेताहरु
सबै भेलमा हराए...
शशी भट्टराई श्रेष्ठ
