• ट्रेण्डिङ्ग :
मतदाता नामावलीको अद्यावधिक भइसकेकाले केही दिनमै जिल्ला पठाइसक्ने आयोगको तयारी 

मतदाता नामावलीको अद्यावधिक भइसकेकाले केही दिनमै जिल्ला पठाइसक्ने आयोगको तयारी 


  • 8.5K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    मतदाता नामावलीको अद्यावधिक भइसकेकाले केही दिनमै जिल्ला पठाइसक्ने आयोगको तयारी 

    काठमाडाैं,१० वैशाख । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा मतदाता नामावलीसम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने स्पष्ट पारेका हुन्। यही वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले आयोगबाट नियमित हुँदै आएको मतदाता नामावली संकलन गत माघ २५ गतेदेखि स्थगन भएको थियो। आयोगले गत चैत १३ मा अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो।

    images

    मतदाता नामावली ऐन, २०७३ को दफा २१ मा अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था छ। तर, पनि मतदाता नामावली सार्न  र सच्याइ पाउँ भन्ने निवेदन आइरहेको आयोगले जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार मतदाता नामावली थपघट गर्ने, हेरफेर गर्नेलगायत कार्य नितान्त आयोगको क्षेत्राधिकारभित्र रहेकाले सो ऐनको दफा २९ बमोजिम कुनै अदालतमा प्रश्न उठाउन नपाइने पनि आयोगले उल्लेख गरेको छ। 

    आयोगले गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो। उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिन आह्वान गरिएको थियो। सोही अवधिमा एकै वडाका दुई वा दुईभन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने, कुनै दावी विरोध भए सोसम्बन्धी निवेदनलगायत कार्यक्रम सञ्चालन गरिएको थियो।

    उक्त कार्यका लागि अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो। मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् आयोगबाट गत चैत १३ गते दोहोरो नामावली हटाउनेलगायत प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन भएको थियो। स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगले गत चैत १३ मा प्रकाशन गरिएको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने आयोगले जनाएको छ। 

    स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भने मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटि सच्याउनेलगायत कार्य गर्न सकिने विज्ञप्तिमा जनाइएको छ। स्थानीय तहमा भाग लिने १ करोड ७७ लाख मतदाताहरुको नामावली प्रकाशन हुदैगरेकाले केही दिनमै जिल्ला जिल्ल पठाउने तयारी भैरहेको निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिए ।  उनका अनुसार नामावली र नयाँ मतदाताको परिचयपत्र छपाइको काम भैरहेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप