• ट्रेण्डिङ्ग :
पुस्तक समीक्षा
फ्लान्डर्स फिल्डमा तमोरका सुसेली

फ्लान्डर्स फिल्डमा तमोरका सुसेली


  • 13.9K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 21.4K Views

    फ्लान्डर्स फिल्डमा तमोरका सुसेली

    ताप्लेजुङमा जन्मिएकी जानु काम्बाङ लिम्बु कविता, गीत र आख्यानमा सराबरी कलम चलाउने स्रष्टा भनेर नेपाली साहित्य जगत्मा परिचित छन् । इन्डिगो बुक्सले प्रकाशन गरेको “फ्लान्डर्स फिल्डमा तमोरका सुसेली” निबन्ध सङ्ग्रह उनको चौथो कृतिका रूपमा पाठकमाझ आइपुगेको छ । यो सङ्ग्रहमा अठारवटा निबन्ध रहेका छन् । त्यसमा पनि सातवटा स्वदेशका छन् भने अरु परदेशका ।

    images

    तमोर खोलाको पानी खाएर हुर्किएकी जानु, जीवनका अनगिन्ती जङ्घारहरु तर्र्दै अहिले बेलायतकी स्थायी बासिन्दा बनेकी छिन् । दुर्गम पहाडी भूगोल र आधुनिक पश्चिमा समाजको भिन्न परिवेशमा देखेका, भोगेका, छामेका अविस्मरणीय पलहरुलाई उनले यो निबन्ध सङ्ग्रहमा समावेश गरेकी छिन् ।

    बितेका समय आकृति, विम्ब र स्मृतिका अनेक तरङ्गमा छचल्किन्छन् । फेरि कहिल्यै साक्षात्कार हुन नसक्ने अनुभूतिले मथिङ्गलमा बारम्बार हिर्काइरहन्छन् । स्मृतिका तिनै मिठा–नमिठा हिर्काइहरु बटुलेर लेखिएको यो यात्रा– निबन्ध साँच्चै नै एउटा डायस्पोरिक जीवन भोग्ने पात्रको कथा हो ।

    तीस वर्षमा माइत गाउँ 

    यो निबन्धले ताप्लेजुङलाई विस्तृत रुपमा चिनाएको छ । सन् २०१४ मा उनको एक महिना लामो छुट्टी मिलेकोले नै उनलाई तीस वर्षमा माइती गाउँ आउने साइत जुर्यो । आफ्ना श्रीमान् र आफन्तहरु सँगै उनी नेपाल आउँछिन् । लण्डन एयरपोर्टमा आइपुग्दा उनी माइती गाउँ सम्झेर तुरुक्क आँसु झार्छिन् अनि कसैले नदेख्ने गरी आँखा पुस्छिन् । “छातीभरि स्वदेशको झझल्को टम्म भरिँदै थियो । पहाडको सम्झना मनमा बुरुरु पलाउँदा आँखा रसिएको पत्तै भएन । धेरै वर्षपछि आफन्तसँग भेट्ने मौका पाउँदै थिएँ।हर्षले आतुर र चञ्चल थियो मन ।” (पृ.२१)

    “संविधानसभाबाट माघ आठ गते नयाँ संविधान बन्ने÷ नबन्ने अन्योलले गर्दा पूर्वक्षेत्र बन्द भएको बेला परेछ त्यो समय । दिनभरि सडक बन्द हुँदा राती मात्र गाडी चल्ने हुनाले, दिनभर सडक तनावग्रस्त । त्यसैले सकसपूर्ण रातीको यात्रा, सानो गाडीमा सिट भन्दा धेरै यात्रु, डरलाग्दा भिर पहरामा बनेको पहाडको चिप्लो बाटो त्यैपनि पनि मन भने आतुर थियो आफ्नो माइती गाउँ पुग्न । राँके भन्ज्याङ काटेर फेदेन बजार पुग्दा रातको १ः३० बजेको थियो । मनमनै नेपाली राजनीतिलाई सरापी रहें, बल्लतल्ल नेपाल आउँदा पनि सुख छैन, साला, दिउँसो हिंड्न पाए कति रमाइलो दृश्य हेर्न पाइन्थ्यो ।” (पृ.२६)

    जानु काम्बाङ लिम्बुका कथा पढेर म उनीसँग धेरै अघि नै मोहित भै सकेकी थिएँ । लिम्बु संस्कृतिमा हुर्किएकी जानु, आफ्ना सबै लेख रचनाभित्र आफूले सुन्दै बोल्दै आएका तिनै लिम्बु टोनका अगर््यानिक शब्दहरू मिसाउँदै कृति तयार पार्छिन् । किताबको अन्त्यमा फुटनोट पनि भएकाले कतिपय मन परेको शब्द मैले पनि आफ्नो डायरीमा टिपेर राखेकी छु । स्वतन्त्र तर मर्यादित ढङ्गले लेखिएको यस संस्मरणमा भाषिक रम्यता छ । क्लिष्टताले स्पर्श नगरेका चोखा अभिव्यक्तिहरु नै वास्तवमा जानुका निजी सम्पदा हुन् ।
     
    तमोरका सुसेली सुसेल्दै

    पुषको अन्तिम, त्यो मध्ये जाडो । कोदोसँग आलु साट्न जानुपर्ने ओलाङ्चुङगोला, चेने, घुन्सा जो उच्च हिमाली भेगमा पर्छन् । ओडारमा बास बस्दै, ढाकरमा छ दिनसम्मलाई पुग्ने सातुसामल सहित तीन पाथी कोदो बोकेर हिँडेकी छ ऊ पनि अरु ठुला गाउँले आफन्तसँग । यो निबन्ध मैले एकै बसाइमा पढ्नै सकिनँ । किताबको पन्नाबाट मेरा रसिला आँखा हटाएर सिलिङतिर हेर्थें । डबडबाएका आँखामा छचल्किएको आँसुको पोखरीमा गाजलको लेदो मिसिएपछि जुरुक्क उठेर बाथरुममा जान्थेँ र मुख धोइ फेरि किताब समाउथें ।

    सबै निबन्धले त म भन्दिनँ केही निबन्धहरूले चैं पाठकलाई कतिसम्म सहन सक्छस् हेर्छु भनेझैं गरेर च्यालेन्ज दिन्छन् । मैले कहिल्यै देखेको भेटेको छैन जानुलाई, जानुले आलु साट्न लेक चढेको उमेरमा म भने आफ्नो कपाल पनि आफैं कोर्न सक्दिनथें । त्यो दस वर्षे फुच्ची अनकन्टार अक्करे भिरमा वयस्क मान्छेका पछि लागेर कसरी त्यत्रो भारि बोकेर हिँडेकी होली जस्तो लाग्छ । मेरो आफ्नो दस वर्षे उमेरले पहाड टेक्न त के देख्न पनि पाएको थिएन । उसलाई भने कत्रो दुःख – कसरी लेख्न सकेकी जानुले यस्तो मुटु हल्लाउने संस्मरण । साहित्यमा रुचि राख्ने सबैलाई तमोरको सुसेली एकपटक पढिदिनु हुन विनम्र आग्रह गर्दछु ।

    संसारकै सुविधा सम्पन्न देशमा पुगेकी उनी, तर मनमा आज पनि कताकता तमोर सुसाइरहन्छ; कति गहन छन् यसभित्र उनका भनाइहरु– आफ्नो देशको सम्झनाले परदेशमा पनि उनलाई ऐंठन पार्दो रहेछ । वास्तवमा परदेशमा पुगेपछि आफ्नो देशको मायाले, आफू खेल्दै हुर्केको माटोले डायस्पोरिक लेखन जन्माउँछ नै । मन र ज्यान बाँडिएको उनको प्रत्येक निबन्धले डायस्पोरिक जीवन भोग्ने पात्रको मनमा हुने द्वैधता प्रष्ट पार्छ । उनी लेख्छिन्, “कुलो सुक्नु खेत मासेर घरैघर बन्नु थियो, बाल्यकालको याद सुक्दै जानु समयको खेल । लाग्थ्यो, दावले कुलो र म सँगसँगै हुर्कियौँ र सँगसँगै हरायौँ पनि गाउँबाट। थाहा छैन फेरि त्यो कुलोको डोबमा कुलकुले पानीको जीवन फर्केला नफर्केला । म निष्ठुरी भने एक जुगपछि गाउँ फर्केकी छु र एउटा पूरानो सम्झनाले झ्याप्प छोपिएकी छु ।” – तमोरका सुसेली सुसेल्दैबाट पूरानो सम्झना बल्झाएर साहित्य लेख्ने जानु आज उनी संसारको एक लोभनीय सभ्यतामा पुगे पनि तमोरको चिसो पानीमा डुबुल्की मार्दाको क्षण सम्झिरहन चाहन्छिन् यसैगरी कथामा, निबन्धमा, गीतमा शब्दहरू उनेर ।

    यस प्रकृतिका उनका लेखनमा लिम्बु उच्चारणका शब्द आउँछन्, नातागोताका शब्दहरू, अनि लिम्बु खाध्यान्न सामग्री, सांस्कृतिक विम्ब, धर्म– दर्शन, मुन्धुमका कुरा आउँछन् । यो सङ्ग्रह लिम्बु संस्कृतिको एक दर्पण पनि हो । (भूमिकाबाट) “कस्तो प्योर, मिठो, लोभलाग्दो भाषामा लेख्न सकेकी छन् जानुले । अनेक ठाउँमा ठोक्किंदै, बग्दै, ठुलाठुला दहमा मिसिंदै, जम्दै गरेपनि, भुमरी पर्दै खस्तै गरेपछि बाल्यकालमा पक्रेको भाषा संस्कृतिको त्यो निर्मल रुप छोएर आनन्द लिने रहरले यो कृति दोहोर्याएँ तर झन् तिर्खा बडायो ।”– गोविन्दराज भट्टराई

    उनका संस्मरणमा भेटिएका मानवीय संवेदनाका अति सुक्ष्म र गहिरा कुराले साहित्यको महत्व छर्लङ्ग पार्दछ । उनी लेख्छिन्, “चार दिन लगातार काम गरेर बल्ल छुट्टी मिलेको छ आज । शरीरलाई आराम चाहिए पनि मनलाई साहित्यको उधुमै तिर्खा छ । मेरी आमाका ती अलिखित यात्राहरुमा पहिलो सहयात्री म नै त थिएँ । आमा पढालेखा थिइनन्, नत्र लेख्थिन् होला । आफ्ना जीवन यात्राका वृतान्तहरु जस्तै पालामे जेठासँग मङ्सिरे पूर्णे, माघेमेला र पुसेमेलामा धान नाचेका, पालाम गाएका रोमाञ्चक नियात्राहरु ।”

    दृश्यहरु त घरको दैलो नाघ्नासाथ परिवर्तन हुन थाल्छन् । तिनै फरक फरक परिवेशका फरक दृश्यहरुलाई आफ्ना लोभि नजरले टिप्दै कागजमा उतारेकी जानु भन्छिन् – “जीवनको यात्रामा आफूलाई आफैंले डोर्याउन सक्ने एउटा बाटो रोजेर निरन्तर हिंडिरहेकी छु । बाटामा हिंड्दै जाँदा, कालीझारझैं छेउछाउमा मौलाइरहेको हजारौं अधुरा सपना भेटेकी छु ।”

    फ्लान्डर्स फिल्डमा गोर्खाली

    पहिलो विश्वयुद्ध लड्न ब्रिटेनको तर्फबाट १३ लाख आर्मी भारतबाट मात्र गएका रहेछन् । ती १३ लाख लडाकुमा कति नेपाली थिए ? कति घाइते भए र कति हराए ? उनी लेख्छिन् यस्ता नरसंहारक युद्धमा ज्यान गुमाई पृथ्वीको यो गोलार्धमा जुगजुग अमर भइ बसेका हाम्रा वीर गोर्खाली नामलाई मनैदेखि सलाम गरेको कुरा । राणाशासनको बेला दोस्रो विश्वयुद्धमा आफ्ना ठुलोबुवाले इटली पुगेर वीरगति प्राप्त गरेको कुरा उनी दुःखी हुँदै लेख्छिन्, “यो इपर युद्ध स्मारकमा जस्तै मेरो ठुलो बुवाको नाम पनि इटलीको कुनै युद्ध स्मारकमा कुँदिएको होला । मलाई त्यो प्रिय नाम खोज्दै कुनै दिन त्यता जाने मन छ ।”

    भान्सामा भात तरकारी पकाउँदा पनि अचानक मनमा उठेका शब्दहरू न्यापकिनमा भए पनि टिपिहाल्छु, संसारको जस्तोसुकै ठाउँमा पुगेपनि नारीका जिम्मेवारी पुरुषको तुलनामा धेरै हुन्छन् । अनेकौं व्यवहारले थिचिएकी महान् नारी स्रष्टा जानु काम्बाङ लिम्बुको यो कृतिले नेपाली साहित्य जगत्मा तहल्का मच्चाओस् । प्रत्येक आमा दिदी बहिनीले यो लिम्बुनीको नाम सुनेर गर्व गरुन्, तमोर अझै जोडले सुसेल्दै बगिरहोस् जानुको प्रगति सुनेर । 

    मौसम बदलिए पनि मेरो जीवन बदलिएन ! उनी कवि पनि हुन्, कति कुराहरु साङ्केतिक छन् उनका त्यसैले त उनको लेखाइमा मिठास छ नि । मनका भावहरू उनी शब्दमा यसरी अभिव्यक्त गर्छिन्, “एकदिन बिहानी जन्माउन नपाई जिन्दगीबाट लखतरान भएर ओछ्यानमा साँझ फेरि थान्को लाग्नेछु । सम्झिन्छु बिदेशीनु अघि ह्वार ह्वारति बलेका रहर अनि तारा जूनझैं टल्केका सपना सायद १० प्रतिशत जति पूरा भए होलान् बाँकी ९० प्रतिशत सपना मनमै निभेर गए ।”

    सबै सपनाहरु पुरा हुने भए यो जिन्दगी लोभलाग्दो कहाँ हुन्छ र ? अब होला, होला, पक्कै होला भन्दाभन्दै मान्छे एकदिन त्यहीँ पुग्नेछ समाधिस्थलसम्म अनि हराउनेछ तमोरका सुसेलीसँगै अनन्त यात्रामा । अन्त्यमा यस्ता प्रतिभालाई नेपाल राष्ट्रले र नेपाली डायस्पोरा जगतले चिनोस् । साहित्यिक बाटोमा जानुको लेखन अविरल बगिरहोस्, अनेक शुभकामना ।
            


    शशी भट्टराई श्रेष्ठ
    लेखकबाट थप