• ट्रेण्डिङ्ग :
मनको ऊहापोह

मनको ऊहापोह


  • 11.7K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 18.0K Views

    मनको ऊहापोह

    नेपाल सुन्दर, शान्त र विशाल
    यहाँ पैंतालामा हिउँ आँखामा हिमाल

    images

    यस्तो सुन्दा कस्को पो मन लोभिदैन होला ? कुन नेपालीको मन गर्वले फुल्दैन र ?  तर, बिडम्बना सुन्दर, शान्त र विशाल नेपालले एउटा सच्चा नेता कहिल्यै पाउँन सकेन् । नेतामात्र बन्ने भए सबै, देशप्रति समर्पित कोही भएनन् । जनताले चुनेर पठाएको नेताले जनताको हितमा काम गर्ने हो तर यहाँ त सबै आफ्नो निहीत स्वार्थ पुरा गर्नमा तल्लीन छन् । कैयाैँ नेपालीको रगत बगेर, कति शहिद भएर आएको गणतन्त्रको यो उपहास भइरहेको छ । नेताहरु धनी भए, निमुखा जनता सधै मारमा परे ।

    संघीय गणतन्त्रले आकास्याएको आर्थिक भारले गर्दा, देशको ढिकुटी बिकासमा भन्दा सांसदहरुको तलब, सुबिधा र भत्तामा खर्च भइरहेको छ । फेरि सबैलाई भाग नपुगेपछि प्रदेशदेखि केन्द्रसम्म जता पनि नम्बर बढाउन मिल्दो रहेछ । बडो अचम्म लाग्छ यस्तो देख्दा । यति सानो देशलाई यति धेरै दल र यति धेरै सांसदहरु चाहिएकै छैन ।

    अस्पतालमा एउटा क्याबिनको एक रातको दश हजार, एघार हजार येस्तै जति मन लाग्छ उति रेट राखिएको छ तर तेति पैसाको त्यो अस्पतालमा एक रातमा बिरामी र बिरामीको कुरुवाले के सुबिधा पाउछ भनेर अनुगमन गर्ने कोही छैन । त्यसैगरी बोर्डिड स्कूलहरुमा भर्ना शुल्क र मासिक शुल्क जति लिए पनि भएकै छ ।

    फोहोरहरु सडकको छेउमा कुहिएर वातावरण बिषाक्त भइरहेको हुन्छ । सरकारी कार्यालयहरुमा हत्पति काम हुँदैन । दिउसो खाजा खान गएका हाकिम तथा कर्मचारीहरु गफमा तल्लीन भएर आफ्नो क्याबिनमा फर्केर आउन घण्टौ लगाउछन् वा आउँदै आउँदैनन् । कति ठाउँमा त पालो कुरेर उभिँदाउभिँदा सास्ती हुन्छ, बस्ने कुर्सीको ब्यवस्थासम्म पनि हुँदैन । जताततै बेथिति छ । भ्रष्टाचार मौलाएको छ । 

    चुनाव लड्ने बेला सबैले आशा देखाउने तर जितिसकेपछि त्यसप्रति जिम्मेवार नहुने प्रवृत्तिले नेताहरुप्रति जनताको विश्वास नै उठीसकेको छ । चुनावी घोषणपत्रमा भने अनुसार भएको छ कि छैन भनेर अनुगमन गरिदैन त्यसैले जे भनिदिए पनि भइहाल्छ । जति थोक सित्तै उपलब्ध गराउँछौ भनिदिए पनि भइहाल्छ । आखीर भन्नसम्मको लागि त हो नि, त्यो उपलब्ध गराउन सकिने वा नसकिनेसँग कुनै मतलबै भएन । यसै विषयमा प्राइम टाइम वीथ बिजय कुमारको हालसालैको श्रृखलामा डा. निरज पौड्यालले निर्वाचन घोषणापत्र सित्तैवादको पुलिन्दा भनी गर्नुभएको तर्क असाध्यै घतलाग्दो छ ।

    यस्ता बिकृतिहरु देखेर धेरै साहित्यकारहरु तथा बुद्धिजिवीहरुले आवाज उठाउदै आउनुभएको छ । साहित्यकार डा. अन्जना वस्ती भट्टराईको हालसालै निस्किएको पुस्तक समय संवेगमा पनि यस्ता बिचारहरु पोखिएका छन् । उहाँले लेख्नु भएको छ, हे मेरो जन्मभूमि नेपाल । तिमीले एउटै पनि राष्ट्रप्रेमी नेता पाउन सकिनछौ, यहाँका राष्ट्रप्रेमी सर्वसाधारणका बिरोधका स्वर शासकका कानमा ठोक्किएर फर्किएपछि सबै राष्ट्रदोहनको निकृष्ट खेल टुलुटुलु हेर्न बाध्य छन् । यो सबै देख्दा हृदय टुक्रिएको छ ।

    उही पुरानै नेताहरु सधै उमेद्वार हुने, उनीहरु मध्येकै सत्तामा आउने र जनतालाई आश्वासन दिए अनुसार नगर्ने प्रवृत्ति दोहोरीरहेकै छ । त्यसैले यो चुनावी माहौलले पनि जनतामा कुनै उत्साह थप्न सकको छैन । शुद्ध जनता त भोट कसलाई पो दिने भनेर अन्यौलमा परेका छन् । हाम्रो देशमा पनि एउटा पदका लागि एउटा व्यक्तिले दुईचोटीसम्म प्रतिस्पर्धा गरिसकेपछि तेस्रो पटक प्रतिस्पर्धा गर्न नपाउने नियम लगाउन अत्यन्त जरुरी छ । नत्र कसरी नयाँ पुस्ताको शिक्षा, ज्ञान, विवेक, हौसला, दक्षता र क्षमताले ठाउँ पाउला र ? उही पुरानै नेताहरु नै तछाड मछाड गरिरहेका छन् । बिपरित दिशातर्फ फर्किएका दलहरुबीच गठबन्धन हुन्छ केबल स्वार्थ सिद्ध गर्न सम्मका लागि, स्वार्थ सिद्धिएपछि फेरि भताभुंग हुन्छ । एकअर्कामाथि आरोप प्रत्यारोपको क्रम चलिरहन्छ । ती मेलमिलापका साथ अघि बढ्नै सक्तैनन्, केबल अरुको खुट्टा तान्ने र आफूले फाईदा लिने खेल हुन्छ । यो सब देख्दा कवि जय प्रसाद पाण्डेको हृदय पनि यसरी बोलेको छ । 

    मन्थन
    देश आज कता गइरहेछ ?
    विभिन्न दलहरु ख्याइरहेछन्
    एकै दिशामा जाने भन्छन्
    कोही कता कोही कता छन् । 
    यानको मस्तूल हावामा छ
    ख्वै निर्दिष्ट दिशा पाउँदैन
    वायू वेग छ, धार असाध्ये 
    गन्तब्यको काही पत्तो छैन ।
    (कविता संग्रह चुनेका कविता मनका गीतबाट साभार)

    गणतन्त्रमा समुन्नत र सुशासित नेपालको सपना देख्ने देशबासीहरु आहत भएका छन् । जनताको आस्थाको दियो धिप्धिप् गरीरहेको छ, अब त यो प्रजातन्त्र निल्नु न ओकल्नु भएको छ । संघिय गणतन्त्रको ठूलो त्रिपाल ओढाइएको मेरो देश जनताकै असन्तुष्टि र आत्मग्लानीको झरीले रुझीरहेको छ ।

    बेलाबखत आफ्ना लेख तथा कविता मार्फत बिभिन्न बुद्धिजिवी तथा साहित्यकारहरुले आवाज बुलंद गर्दै आउनु भएको छ । यस्ता आवाजहरुले आकाशका सीमा छुन्छन् बरु, त्यो अनन्त दुरीमा रहेको क्षितिज बरु रातो हुन्छ लाजले, तर स्वार्थको भूमरीमा रमाइरहेकाहरुलाई यस्ता आवाजहरुले कुनै असर पार्दैनन् । नैतिकता र विवेकको खडेरी परीसकेपछि यस्ता आत्मालापहरु तिनै खडेरीमा बिलीन हुन बाध्य हुन्छन् । अब त स्वतन्त्र कवि तथा साहित्यकारहरुलाई पनि परिस्थितिले कस्तो बनाइसकेको छ भन्ने कुरा कवि इन्दिरा प्रसाइको एउटा कविताबाट प्रस्ट हुन्छ, जो कालजयी छ । त्यस कविताको केही अंश मैले यहाँ राख्न चाहे ।

    ए कवि अझै लेख्दैछौ कविता
    शान्तिदूत तिम्रा अक्षरहरुले अस्त्रशस्त्रहरुको जाममा पहिरीसकेपछि 
    अदम्य तिम्रा अक्षरहरु असहाय हुँदै नीरीह गुलाम बनीसकेपछि 
    संजीवनी तिम्रा अक्षरहरु कालकुट नै भएर उभिएपछि 
    ए कवि किन लेख्दैछौ अझै कविता । 
    (कविता संग्रह धिप्धिप्बाट साभार)


    सुमन पाण्डे
    लेखकबाट थप