आमा ! सास्टाङ्ग दण्डवत ढोग
आज माता तिर्थ औँसी पनि हो। हुन त माता तिर्थ आँैसीमा सम्झन्सछ भन्नु होला, त्यसो होइन। जति बेला तिम्रो सहज उपलब्धता थियो त्यो बेला मैले नबुझेकै हो। मलाई तिमीले टिफिनमा हालेर पठाएका परिकारहरु नमिठा लागेकै हुन। तिमीले हात समातेर हिड्डुल गर्न सिकाँउदा मैले हात फुत्काउने प्रयास गरेकै हुँ।
आज सबै अनुभूति भएको छ आमा । हरेक पाइलापाइलामा ठक्कर लागिरहेका बेला तिम्रो हातको अभाव मलाइ भएकै हो। हिड्न सिकायो। दौडिन सिकायौ। लड्न पर्छ लडेपछि उठन पर्छ भन्ने सिकाएनौ आमा। मलाई लड्नु नै हुन्न भन्ने पो सिकायौ। हात समातेर हुन्छ कि आँचलमा बेरेर हुन्छ की ।
बाँसको झुलुङ्गोमा हालेर हुन्छ कि । मलाई जसरी पनि नलड्नु भनेर सिकायौ। लड्न हुँदैन, भन्ने भावको मात्र विकास भयो। तर जीवन त्यो रहेन छ। जीवनमा हजारौं मान्छेहरु लडाउनका लागि तम्सिन्छन्। जसरी हुन्छ पछार्न नै खोज्छन्। हजार पटक लडेर उठ्नु पर्छ भन्ने अहिले सिक्दै छु। सायद त्यो बेला नै मैले हजार पटक लडेर उठ्नु पर्छ भन्ने जानेको भए । आमा तिमी अहिले पनि मेरा हात समातेर लड्न हुँदैन। लरखराउन हुँदैन ठमठम हिड्नु पर्छ भन्ने भएको भए मेरा माइल दुरीका यात्राहरु कति सहज हुने थिएँ ।
आमा आजभोलि जब म लड्छु नि तब म तिमीलाई धेरै सम्झिने गर्छु तिम्रो साहै्र याद आउछ ! तिमी फेरि कहीँबाट आएर मलाई सम्हाले हुन्थ्यो नि भन्ने लाग्छ आमा! तिमी आएर मेरा यि हातहरु थाम न आमा! किनकि आज मलाई फेरि तिम्रो साहाराको आवश्यकता छ ।
यतिमात्र होइन आमा । वेस्वादका खानेकुरा खादाँ मलाई तिम्रो याद आउने गर्छ। अहिले पनि राम्रोसँग सम्झनामा छ। जब भर्खर स्कुल जानेबेला भएको थिएँ । तिमीले मेरो टिफिनको डब्बा मिठामिठा परिकारले भरिदिन्थ्यो। त्यतिबेला मलाई तिमीले बनाएको ती परिकारहरु कत्ति पनि मन पर्दैन थियो । कति पटक त मैले तिमी बनाएको परिकार खाँदैन भन्दै फाल्ने गरेको थिए। तर आमा आज म यी स्वाद नभएका बजारका परिकारहरु खान बाध्य छु। मनमनै तिमीले बनाएका खाने कुराहरु खान पाए हुन्थ्यो जस्तो लाग्छ । तिमी कहीँबाट आएर मलाई आफ्नै हातले बनाएर खाना खुवाउन आमा! म धेरै दिनको भोको छु।
आनन्दले नसुतेको धेरै रात भयो आमा तिम्रो न्यानो काखमा सिरानी राखेर एकपटक मज्जाले निदाउन मन छ। म सानो छँदा निदाउन नसकेर छट्पटाइरहदा अङ्गालोमा च्याप्पच्यापेर कथा, गीत र आफ्नै भाषाका लोहोरी सुनाउँदै हो... हो ... नुनु गर मेरो बाबु भन्दै सुताएको धेरै याद आउछ। आउन आजपनि कतैबाट म यो स्वार्थी शहरमा ठूलाठूला सपनाहरु देख्न निदाउन नसकेर छटपटाइ रहँदा त्यस्तै गरेर सुताउन है! मलाई तिम्रो काखमा फेरि निदाउनु छ आमा! दिनदिनै मलाई माया गर्छु भन्नेहरुले मलाई नै पैसा सँग किन्न खोज्दा म तिमीले दशैँमा टिका लगाउदै आशिर्वाद दिँदै दिएको त्यो दक्षिणा पैसा सम्झन्छु आमा र तिम्रो धेरै याद आउने गर्छ।
पैसाले नै सम्बन्ध किन्न खोज्नेहरु देख्दा तिम्रो धेरै याद आउछ आमा! आफ्ना रहरहरु बेचेर मेरा खुसिहरु किनिदिने आमा! आज आफु नै बेचिएर पनि तिमीलाई दिन सक्ने उपहार केही छैन आमा एक दिन धेरै पैसा कमाउने छु र धनि भएर तिम्रा रहर खुसि इच्छाहरु पुरा गर्छु भन्दा भन्दा आज म कहिले नउठ्ने गरेर ढलेछु कि जस्तो लाग्दै छ आमा! मैले तिम्रा लागि कहिले केही गर्न सकिन मलाई माफ गर है आमा म त आजको दिन पनि तिम्रो मुख हेर्ने फुर्सद नै छैन।
सम्पूर्ण आमाहरुप्रति नमन
समीर ओली
