काठमाडौँ, २२ वैशाख । निर्वाचन आयोगले निर्वाचन परिवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ । वैशाख १९ गते योहो टेलिभिजनबाट प्रशारण भएको । विशेष सन्दर्भ’ कार्यक्रममा निर्वाचन आचारसंहिता २०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमा माथि लालञ्छना लगाउने निर्वाचन आचारसंहित १० बुँदाको हुनुपर्नेमा कसैले नपढ्ने खालको भद्दा बनाइएको भनी निर्वाचन सामग्रीको बारेमा निर्वाचनलाई असर पर्ने गरी नकारात्मक टिप्पणी गरेकाे भन्दै उनलाइ स्पष्टीकरण सोधेको हाे ।
त्यस्तै उनले निर्वाचन आयोगको भूमिका स्वतन्त्र र निष्पक्ष छैन भनी संवैधानिक आयोगमाथि भ्रामक आक्षेप लगाउने एवं निर्वाचन प्रक्रियाको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको मनोबल गिर्ने गरी म्यादी प्रहरी डुप्लिकेट पुलिस हुन् सुरक्षा दिन सक्दैनन् जस्ता निर्वाचनलाई नकारात्मक असर पर्ने खालका गैरजिम्मेवार अभिव्यक्ति दिएको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको आयाेगका प्रवक्ता शालिग्राम पाैडेलले बताए ।
उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को खण्ड (थ) को प्रतिकूल रहेको छ । पोखरेल पर्यवेक्षण गर्न अनुमति प्राप्त संस्थाको अध्यक्ष रहेकाले निर्वाचन आचारसंहिता २०७८ को दफा २० र दफा २१ को खण्ड (घ), (ज) र (ठ) लगायतका व्यवस्थाको कार्यान्वयन गर्ने गराउने जिम्मेवारीमा रहेको समेत आयोगले स्मरण गराएको छ । पोखरेलले व्यक्त गरेका धारणा निर्वाचन पर्यवेक्षण समितिको आधिकारिक धारणा हुन् वा तपाईंका निजी अभिव्यक्ति हुन् ? २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।
