काठमाडाैं,२३ वैशाख । ओखलढुंगाको लिखु गाउँपालिकामा स्वतन्त्र उम्मेदरी दिएका नेपाली कांग्रेसका नेता राजन सुवेदीले आजबाट पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । पार्टीले आयोजना गरेको चुनावी आमसभामा महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु रामहरी खतिवडा र प्रदीप कुमार सुनुवारसँग लौरो छाडेर रुखलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सुवेदीले चुनाव चिन्ह लौरो पाएका थिए । हिजो सम्म लौरो चिन्हमा भोट माग्दै हिडेका सुवेदीले आजबाट पार्टीका आधिकारी उम्मेदवार अशोक कार्कीलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । पार्टीले टिकट नदिएपछि विद्रोह गरेका नेता सुवेदी गाउँपालिकाका प्रभावशालि नेता हुन् ।
उनी आजैबाट कांग्रेसका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने भन्दै गाउपालिका प्रमुखका उम्मेदवार अशोक कार्कीको टिममा भोटमाग्न हिडेका छन् । उनकाे सहयाेग पछि लिखु गाउँपालिकामा कांग्रेसकाे जित नजिक पुगेकाे भन्दै उत्साह बढेकाे नेपाली कांग्रेसका नेता कुमार सुवेदीले बताए ।
