• ट्रेण्डिङ्ग :
कविता 
सालिक सत्ता जिन्दावाद !

सालिक सत्ता जिन्दावाद !


  • 8.0K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    सालिक सत्ता जिन्दावाद !

    केही सालिकहरु
    अझैपनि राज गर्छन् 
    र उक्साउँछन्
     मान्छेहरुलाई
    अरुका सालिक तोड्न।

    images

    यी मान्छेहरुमा 
    के दम छ र दम्भ बाहेक 
    ती सालिकहरुलाई हेर त
    कति शालिन छन्
    कति धैर्यवान् छन्
    हेर त ओठमा अटुट मुस्कान
    कति मिजासिला छन्

     हिजो त्यही बाटो हिँड्दा
    खासखुस खासखुस
    कानेखुसी सुनियो सालिकहरुको
    अब हामी राज गर्नुपर्छ
    यो शहरमा 
    हाम्रो संगठन बिस्तार गर्नुपर्छ
    यो शहर सालिकमय होस्
    अब हामीले मान्छेमाथि शासन गरौं
    मान्छेहरुलाई उचालौं 
    सालिक सत्ता ल्याउन
    सालिक सालिकबिच द्वन्द्व 
    देखाइदिउँ जसरी नि फाइदा 
    हामीलाई नै हुन्छ
    आज ताेडिन सक्छ
    हाम्रा २/४ सालिकहरु
    केही फरक पर्दैन 
    संगठन बिस्तारका लागि सहिद बन्दा
    एक दिन यस्तो दिन आउनेछ
    यो शहरको प्रत्येक चोकमा
    ट्राफिक भन्दा धेरै सालिक हुनेछन्
    अनि आउनेछ सालिक सत्ता

    अँ साच्चि मान्छेहरु उक्साउँदा ,
    थोरै थोरै जात र धर्मको 
    मसला मिसाउन नभुल्नु
    बडा चटपटा बन्ने छ माहोल
    आउनेछन् मानिसहरु
    सालिक सत्तालाई प्रशय दिन।
    ढुक्क हुनु हाम्रो ओठको मुस्कान टुट्ने छैन
    मुस्कुराउँला अझ बढी शक्तिशाली भएर।
    नारा लगाउँला सालिक सत्ता जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

    ##किरण ढकाल


    किरण ढकाल
    लेखकबाट थप