काठमाडाैं,२१ जेठ । जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी नेपाली कांग्रेसबाट निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । आज (शनिबार) उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थियो । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदहरुमा निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।
समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह निर्वाचित भएका छन् । सिंह आदर्श गाउँपालिका–५ बाट ५ सय ६१ मत सहित गाउँ सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी छन् । पूर्वीचौकी गाउँपालिका–७ बाट ७ सय २८ मत सहित गाउँसभा सदस्यमा निर्वाचित चुनारा समन्वय समितिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
खुला सदस्यमा रामबहादुर खड्का, ठक्कर बोहरा र नरेशबहादुर खड्का निर्वाचित भएका सहायक निर्वाचन अधिकृत पाध्यायले बताए । महिला सदस्यहरुमा दीपा खड्का, शान्ता भुल र निर्मला भुल र दलित सदस्यमा झगडी कामी निर्वाचित भएका पाध्यायले जानकारी दिए । ९ स्थानीय तह रहेको डोटीमा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर १५, एमालेले २ र माओवादी केन्द्रले एक जितेको छन् । स्थानीय तह निर्वाचनमा एक्लै लडेको कांग्रेसले जिल्ला समन्वय समिति पनि एक्लैले बनाएको छ ।
