काठमाडाैं,३१ जेठ । मंगलबार बिहान ११ बजे लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला (खत्री) वली पक्राउ परिन । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
मन्त्री वलीले नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका नेता एकराज बस्नेतको तुलसीपुर–५ बसपार्कस्थित घरैमा गएर उनकी श्रीमती मीना भण्डारी र पाँच बर्षकी छोरीलाई हातपात गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर हिराशतमा राखिएको जनाएको छ । एकराज बस्नेतको घरमा पुगेर मिना र उनकी छोरीमाथि हातपात गरेको भन्दै स्थानीयले वलीलाई घरभित्रै थुनेर राखेका थिए । त्यसपछि प्रहरीलाई घटनाको बारेमा सूचना दिएर बोलाए । प्रहरीटोली घटनास्थलमा पुगेर उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई अहिले प्रहरीले हिराशतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वलीको सुरुवाती चार्चा
लुम्बीनी प्रदेशको एमाले सरकार ढलेपछि उनी निकै चार्चामा आएकी थिइन् । वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् । नेकपा फुटेर एमाले र माओवादी फरक फरक भएपछि उनले माओवादी पार्टी रोजेकी थिइन् ।
त्यस पश्चात लुम्बीनी प्रदेशसभा सदस्यबाट वलीलाई नेकपा एमालेले कारबाही गरेको थियो । वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै सांसद पद नरहने गरी कारवाही गरिएको विवरणसहित सभामुखलाई पत्र बुझाइएपनि उनलाई कार्बाही भएन । एमाले नेता उत्तमकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।
गत वर्ष वली लुम्बिनीमा सरकार जोगाउनुपर्ने नेकपा एमाले र नयाँ सरकार बनाउने तयारी गरेको नेकपा माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । त्यस क्रममा आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाउँदै उनले पत्रकार सम्मेलन समेत गरेर चर्चामा आएकी थिइन् । पोखरेलले राजीनामा दिएपछि बनेको कुलप्रसाद केसी नेतृत्वको सरकारले वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको थियो ।
एकराजसँगको सम्बन्ध विस्तार
तत्कालीन नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको सन्देश दिन भन्दै माओवादी पृष्ठभूमिका प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’लाई विमलाको चुनावी कमाण्डर बनाए । एकल महिला भएको सहानुभूति र नेकपा एमाले र माओवादी सबैको सहयोगमा विमलाले नेपाली कांग्रेसका केशव आचार्यलाई पराजित गरिन् । चुनावी अभियानका क्रममा उनी अपार र प्रदेश सांसद दामा शर्मासँग निकट भएको स्थानीय माओवादीका नेताहरु बतउँछन् । पूर्व एमालेहरूसँग टाढिएर पूर्वमाओवादीका नेता–कार्यकर्तासँग उनी बढी घुलमिल हुँदै गएकी वलीको पूर्वमाओवादीका कार्यकर्ता एकराज पनि विस्तारै चिनजान भयो ।
विमलासँग आफ्नै निजी सवारीसाधन थिएन । त्यसैले तत्कालीन नेकपाका नेता अपार र दामा शर्माले विमलाको आवागमनका लागि एकराज बस्नेतलाई जिम्मा दिएपछि एकराजकै निजी कारमा उनको सयर हुन थाल्यो । त्यसयता करिब ३५ वर्षीय एकराज र विमला विस्तारै निकट हुँदै गएको तथ्य खुलेको छ । तुलसीपुरमा अढाई तल्लाको घर भएकी विमला घोराहीमा भाडाको घरमा बस्न थालेपछि एकराज पनि विमलासँगै घोराहीमा बस्ने गरेको माओवादी निकट नेता कार्यकर्ताहरुको भनाइ छ ।
केही महिना अघि मात्रै विमला र एकराजकै फेसबुक वालमा दुई जनाबीच चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्वीरलाई लिएर आफ्नो बदनाम गर्न खोजेको भन्दै विमलाले सार्वजनीकरुपमा बोलेकी थिइन् । एकराजका एक छोरा र एक छोरी छन् भने विमलाका पनि दुई छोरा रहेको खुलेको छ । विमला नाताले आफ्नो दिदी पर्ने भन्दै सँगै हिडिरहने एकराजको घरैमा आएर ‘मेरो एकराज खोइ’ भन्दै उनको घरभित्र पसेर ताण्डवनृत्य देखाएको स्थानीयबासी बताउँछन् । एकराज भने परिवारको सम्पर्कमा नआएको तीन दिन भएको जानकारी प्राप्त भएको छ ।
वलीलाई बर्खास्त गर्न एमालेको माग
एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुव्र्यबहार गरेकी वलीलाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेल सरकारसँग माग गरेको छ । वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । ‘विगतमा पनि उहाँसंग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएका थिए, तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय छ’–ढकालले भने, ‘आफूजस्तै अर्की महिलामाथि हातपातमा उत्रिनु लज्जाजनक हो, यसले सबै सांसद र प्रदेशबासीको शीर निहुराएको छ ।’ नेता ढकालले राज्यमन्त्री वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टि हुने बताए ।
यस्तो छ घटनाको संक्षिप्त विवरण
राज्यमन्त्री वली मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ सब्जीमण्डी नजिकै वाइसीएलका स्थानीय नेता एकराज बस्नेतको घरमा पुगेकी थिइन् । सहयोगीसहित लु १ झ ५३७ नम्बरको सरकारी गाडीमा त्यहाँ पुगेकी उनले एकराजकी श्रीमती मीना भण्डारीसँग एकराज खोई भनेर सोधेकी थिइन् ।
‘बिहानै गेट खोल भन्दै उहाँ (वली) आउनु भयो । गेट खोलेर भित्र आएपछि एकराज खोइ भन्दै खोज्नुभयो’, भण्डारीले सञ्चारकर्मीहरुसँग भनिन्, ‘त्यसपछि भित्र आएर दराजमा भएका लुगाहरु फालिदिनु भयो । मलाइ गालामा हिर्काउनुभयो । मेरो कपडा पनि च्यातिदिनु भयो ।’
मंगलबार विहान एकराज भने घरमा थिएनन् । बिहान भण्डारीमाथि कुटपिट भएपछि आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको थियो । विहान ११ बजेतिर पीडित पक्षले न्यायको माग गर्दै प्रहरी कार्यालय बाहिर नाराबाजी समेत गरेका थिए । अहिले उनको मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढेको प्रहरीको भनाइ छ ।
