चितवन-पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्सटमा छुट्याइएको छ ।
वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
बाघ गणनाका लागि देशभरि छ सय वटा क्यामरा प्रयोग गरिने छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागका डा. रामचन्द्र कँडेलका अनुसार क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने छ ।
नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् ।
सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् । त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८ बाघ भेटिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, बाघ गणना गर्न चितवन-पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने छन् भने आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने छ ।
बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ ।
कुलप्रसाद काफ्ले/न्युज कारखाना
