झापा, ८ साउन । झापाको बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्षमा १३ लाख ९ हजार खर्च गरी १४ पदाधिकारी र १३ कर्मचारीलाई खरिद गरेको मोवाइल फोनले यति बेला निक्कै चर्चा पाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनलाई मिच्दै गाउँपालिकाले पदाधिकारी र कर्मचारीलाई स्मार्ट फोन खरिद गर्न आर्थिक बर्ष २०७७र७८ मा १३ लाख ९ हजार रुपैयाँ बाँडेको महालेखापरीक्षकको लेखा प्रतिवेदनले देखाएको छ ।
१३ लाख ९ हजार खर्च गरी खरिद गरीएको स्मार्ट फोन को कस्ले पाए भनेर गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेश कुमार भुजेल संग प्रश्न गर्दा उनले स्वास्थ्य बिमा सञ्चालनका लागि केही थान, दलित महिला सदस्यहरुका लागि केही थान, प्रवक्ताका लागि १ थान मोवाइल खरिद गरिएको स्वीकारेका छन् । उनले कार्यपालिका बैठकले अनुमोदन गरेपश्चात फोन खरिद गरिएको जानकारी गराए ।
यता बुद्धशान्ति गाउँपालिकाका वर्तमान अध्यक्ष मनोज प्रसाईसंग बुझ्दा आफूँहरुलाई यस विषयमा सम्पूर्ण जानकारी नभए पनि फोन फिर्ता गर्न पहल गरिएको उनले बताए ।
यता महालेखापरीक्षकको कार्यालयले भने गाउँपालिकाको आयलाई प्रभावित पार्नेगरि खरिद गरिएको उक्त मोबाइल फोन बापतको रकम सम्बन्धित पदाधिकारी र कर्मचारीबाट असुल गर्न पालिकालाई निर्देशन दिएको छ ।
महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्ट फोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख गरेको छ ।
