तुलसीपुर ६ असोज/ तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा स्थित भगवती टोल बस्ने करिब ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा करिब ४२/४३ वर्षीया रिता लामिछानेको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
हमालले आफ्नै घरबाट धारिलो हतियार खुकुरी ल्याएर आफ्नै घर अगाडी उभिएको अवस्थामा रितालाई घाटीमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीया कमला कुमारी हमाल घाइते भएको प्रहरी निरिक्षक केसीले बताए । उनीहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको र अवस्था मध्यम रहेको केसीले बताए ।
खुकुरी प्रहार भएको खवर प्राप्त हुनासाथ प्रहरी चौकी जस्पुरका प्रहरी नायव निरिक्षक बिर बहादुर भण्डारीको कमाण्डमा ३ जना र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रनि नबराज केसीको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रनि केसीले बताए ।
