काठमाडौं, १५ माघ । छिमेकमा महिला हिंसाका घटनाहरु दिनहुँ जसो भैरहन्थे। हिंसाले पिल्सिएका महिलाहरुको ‘क्रन्दन’ ले मन पोल्थ्यो। अनि अठोट जाग्थ्यो ‘हिंसा पीडित यी महिलाहरुका लागि न्यायका लागि लड्नेछु।’ नेपालगञ्जको एक मुश्लिम समुदाय। त्यही समुदायमा हिंसाले पिल्सीएका महिलाहरुको क्रन्दनको वर्षौँसम्म साक्षी बनिन् रुबी खान।
महिलामाथि हुने हिंसाका घटनाहरुले उनलाई यी महिलाहरुलाई न्याय दिलाउने ख्वाब जगाइरहेका पनि थिए। ‘मेरो समुदायमा कुनै यस्तो दिन हुदैन थियो जहाँ महिलामाथि हिंसा नभएको होस्’ उनले विगत सम्झिइन् ‘समुदायमा हरेक दिन हरेक महिलाले भोग्नुपरेको पिडा र महिलामाथि भएको दुव्र्यवहार देखेर मलाई सानैदेखि महिलाको लागि कही गर्नुपर्छ भन्ने विचार आएको हो ।’
त्यही ख्वाबले खानलाई साँच्चै महिलामाथि हुने ‘अन्याय’ का लागि लड्ने साहस दिलाइदियो। फलतः नेपालगञ्जदेखि पैदल हिँडेर यस्तै अन्यायमा परेका नारीहरुलाई अधिकार दिलाउन काठमाडौंमा संघर्ष गर्न आइपुगिन् रुबी। उनको साहस बोल्छ ‘म न्यायका लागि लड्छु अनि लडिरहन्छु।’
केही वर्ष अघि उनकै समुदायकी निर्मला कुर्मीको शरीर बन्धक बनाएर हत्या भयो । उनको हत्याको वास्तवीकता पत्ता लगाउनका लागि आवाजहरु उठाइए। तर राज्यपक्षले चासो दिएन। अनि निर्मलालाई न्याय दिलाउन रुबीको मनमा संघर्षको आगो सल्किरहेकै थियो।
उनकै समुदायकी बाँकेकै नकुन्नी धोवीको हत्या भयो। यो महिला हिंशाले निम्त्याएको घटना थियो। तर घरेलु हिंसाका कारण हत्या भएकी नकुन्नी हत्या घटनाकाबारेमा पनि राज्य पक्ष उदासिन भइदियो।
नकुन्नी र निर्मलाको न्याय माग्न नेपालगञ्जदेखि काठमाडौंको पैदल यात्राको योजना रुबीले बनाइन्। रुबीले आफ्नै समुदायका १६ जनाको नेतृत्व गर्दै काठमाडौंको पैदल यात्रा थालनी गरिन्। पैदल यात्राको एउटै उदेश्य थियो ‘सरकारले देखोस् ।’ २० दिनको पैदल यात्रापछि काठमाडौं पुगेको रुबी नेतृत्वको टोली ४२ दिनसम्म काठमाडौंको माईतीघर मण्डलामा अनसन बसे।
नकुन्नी र निर्मलालाई न्याय दिलाई छाड्ने अठोटका लागि काठमाडौं पुगेकी रुबीले त्यो अठोटलाई साकार पारिन्। अन्ततः उनीहरुको आन्दोलनका सामु सरकार झुक्यो अनि नकुन्नीको मुद्दा अदालतमा पुग्यो। अनि निर्मला घटना अनुसन्धानका लागि सिबिईलाई जिम्मा दिइयो । यो सहमति पछि गत पुस १८ गते रुबी नेपालगन्ज फर्किइन्। नकुन्नी धवन्नीको मद्दा अदालतमा प्रवेश गरिसकेको भए पनि निर्मला कुर्मीको न्यायको लागि भने सरकारले सहमति गरेअनुसारको प्रक्रिया अगाडि नबढाएको उनको गुनासो छ । नकुन्नी र निर्मला मात्रै हैन, देशैभरी भएका हिंसाका ठूला घटनाहरुमा रुबीको ध्यान छ । यी घटनाहरुमा पनि पीडितलाई न्याय दिलाउने अठोट रुबीभित्र जागिरहन्छ नै।
सर्लाहीमा भएको मुसहर समुदायको युवाहरुलाई लगेर बधुवा बनाएर काम लगाएको र तीन जनाको कर्तव्य हत्या गरिएको भन्ने पनि कुरा छ र त्यसमा बल्ल जाहेरी मुद्दा दर्ता भएको छ । त्यहाँ रहेको गरिब परिवारका २२ जना युवालाई स्थानीय ठेकेदारले लगेर भारतमा बधुवा राखेर काम लगाएको वताइएको छ । ‘त्यस विषयमा पीडितहरुको आवाज सुन्नुको साटो प्रहरीले उल्टै धम्क्याएको भन्ने निवेदन आएकोले त्यो बिषयमा हामीले ध्यान दिईरहेका छौँ ।’ उनले भनिन्।
करिब एक दशकको अवधिमा लगभग एक हजार अन्यायमा परेका मानिसहरुको लागि आवाज उठाएको बताउने रुबी खान न्यायबाट बञ्चित भएका व्यक्तिको न्याय प्राप्त गर्ने आधार बनेकी छन्। न्याय प्राप्तिको बाटो निकै कठिन छ । तर उनी यही कठिन बाटोलाई आफ्नो धर्म, कर्म र कर्तव्य मानेर निरन्तर लागिरहेकी छन्।
‘नेपालमा कानुन नभएको होइन सरकाले कानूनको इमान्दारीता पूर्वक कार्यान्वयन गरेको खण्डमा हामीले यसरी मानिसको न्यायको लागि संघर्ष गर्नुपर्ने थिएन ।’ नेपाली समुदायमा अझै परिवर्तन नआएको बताउने उनी पुरुष प्रधान नेपाली समाजको कारण महिलाहरु दिनहुँ अन्यायमा परेको र न्याय प्राप्त गर्न नसकेको गुनासो पोख्छिन्।
अरु कुनै पेसा व्यवसाय नअपनाएकी र व्यक्तिगत इच्छा आकांक्षा भुलेर अरुको न्याय र अधिकारको लागि लडेकी रुबी खान अरुको न्याय प्राप्तिको सहारा बन्न पाउँदा आफूलाई भाग्यमानि ठान्छिन् । ‘आफूहरुले सयौं दिन भोकै, एक छाक खाएर घामपानि नभनी न्यायको लागि लड्न परेको दिन सम्झिदै उनी भन्छिन् यस्तो बन्ने रहर होइन समाज यस्तै छ यो समाज परिवर्तको लागि र न्याय प्राप्तिको लागि यो बाटो हिड्नु परेको छ।’
वि.सं. २०४४ साल असार तीन गते नेपालगञ्जमा जन्मिएकी रुबीले २०६३/६४ सालदेखि महिला अधिकारको आवाज उठाउन थालेकी हुन्। उनी नेपाल मुस्लिम सामाजिक विकास चेतना केन्द्रमा सर्वप्रथम आवद्ध भएकी थिइन्। त्यहाँबाट सुरु गरेको उनको यो यात्राले विभिन्न आरोह अवरोह पार गर्दै आयो। उनी अहिले ह्वायात एक्सन नेपालको अध्यक्ष छिन् जसले न्यायको र महिला अधिकारको लागि लड्ने काम गर्छ।
पदम भुजेल
