रोल्पा जिल्लाको एउटा विकट गाउँ जंकोटमा मेरो जन्म भएको हो । हाम्रो गाँउमा विभिन्न जातका मनिसहरुको मिश्रित बस्तीहरु थियो । मगर जातिको सबैभन्दा बढी बाहुल्यता थियो । तर बस्तीहरु प्रायः सबै छुट्टाइएको थियो । मगर बस्ती, क्षेत्री, बाहुन, नेवार बस्ती र दलित बस्ती । म जन्मिदा मेरो हजुरबुवा बितिसक्नु भएको थियो । हाम्रो परिवार एकदमै ठूलो थियो । मेरो घरमा हुजुरबुबा हजुरआमा, मेरो बुबा अनि बुबाका अरु दुई भाइ हुनुहुन्थ्यो । तीन जना फुपूहरुको भने बिहे भइसकेको थियो । बुबा र बुबाका भाइहरुको विवाहपछि परिवारको ठूलो हुदै गएको रहेछ ।
केही समयपछि सबै अलग्ग बस्न थाल्नुभयो । हजुरबुबा पञ्चायतकालमा गाउँको मुखिया हुनुहुन्थ्यो रे ! हजुरबुबाको कारणले होला उहाँको मृत्यु भएपछि पनि हाम्रो घर परिवारको पहिचान मेटिएन । समाजमा छुट्टै खालको पहिचान थियो । मेरो बुबा जेठो सन्तान हुनुहुन्थ्यो । त्यस बखत गाउँमा धेरै जनाले पढ्दैन थिए रे ! तर बुबाले पाँच पास गर्नु भएको थियो । उबेला त्यति पढ्नु पनि ठूलो कुरा मानिन्थ्यो ।
त्यतिबेला लाहुरे बन्न चलन जस्तै बनेको थियो । बुबा पनि त्यसमा सहभागी हुन जानुभयो रे ! लाहुरेमा नछानिएपछि बुबाले आमासँग बिहे गर्नु भएको रे ! माइला बुबाले पनि पाँच पास मात्र गर्नु भयो तर कान्छो बुबाले चाही त्यसबेला नै कानुन विषयमा वि. ए. पास गर्नु भएको थियो रे ! हाम्री दुईवटा फुपूहरुको दाङमा बिहे भएको रहेछ । कान्छा बुबालाई त्यही भएर दाङ दिदीको घरमा बसेर पढ्न सजिलो भएको रे। पछि कानुन विषयमा वि.ए.गरेर कान्छा बुबा गाउँकै प्रा.वि स्कुलमा हेड मास्टर हुनु भएको थियो । अहिलेसम्म पनि त्यही स्कुलमा पढाउनु हुन्छ ।
बुबा म जन्मिसकेपछि विदेश जानु भएको रहेछ । म चार पाँच वर्षको हुँदा बुबा छुट्टिमा घर आउँदा नयाँ लुगा चुईचुई गरेर कराउने जुत्ता ल्याइदिएको अझै पनि याद आउँछ । हाम्रो घरमा म, दाइ, दिदी र आमा बुबा हौँ । माइलो बुबाका छोरा थिएनन् । एकजना दिदी मात्र हुनुहुन्छ । कान्छा बुबाको एउटा छोरा एउटा छोरी छन् । माइला बुबा नेपाली कांग्रेसको सक्रिय राजनीति गर्नुहुन्थ्यो गाउँमा भएका सामान्य झै-झगडादेखि गाउँका सबै खाले समस्या पर्दा सबैले माइला बुबालाई नै सम्झिन्थे । माइला बुबाको छोरा नभएकोले पनि होला मलाई एकदमै माया गर्नुहुन्थ्यो हाम्रो घर पनि सँगै सटेको थियो । म आफ्नो घर भन्दा बढी माइला बुबाको मै खाने बस्ने गर्थे । माइली आमाले पनि त्यतिकै माया गर्नुहुन्थ्यो । हामीलाई पछि बुढेसकालमा हेर्ने त नै होस् कान्छा भन्दै पुलपुलाउनु हुन्थ्यो । सधैं मिठो मिठो खानेकुराहरु लुकाइ लुकाइ दिनुहुन्थ्यो ।
त्यसबेला माइला बुबाको मा २/३ वटा भरुवा बन्दुक हुन्थ्यो । शिकार खेल्न खुब सिपालु हुनुहुन्थ्यो । सिकार गर्न गएकाबेला कहिले रित्तो हात फर्किनु हुदैन थियो । पछि म अलि ठूलो भएपछि मलाई पनि पछि पछि लैजानु भयो । तर बन्दुक छुन भने कहिले दिनु भएन । म सानो हुँदा एकदमै पुलपुलिएर हुर्केको हुँ । आफ्नो घरको कान्छो छोरा अनि माइला बुबा घरको प्यारो एक्लो छोरा सबै मिठो खानेकुराहरु मेरै लागि लुकाएर राखिएको हुन्थ्यो दुवै घरमा । दुबै घरको प्रिय भएको देखेर मेरो दाइ दिदीहरुले खुब ईस्या गर्नुहुन्थ्यो । यो घरको सेर, त्यो घरको सिंह भनेर मेरो नाम नै सेर सिंह राख्दिनु भएको थियो । मेरो स्कुलमा लेखिने नामसमेत त्यही भयो । ६ कक्षा पास गरेपछि मैले नाम परिवर्तन गरेर समिर राखे ।
त्यो समयमा गाउँ घरमा छुवाछूत हुनु सामान्य कुरा नै थियो । हाम्रो गाउँमा पनि छुवाछूत थियो नै । दलितसँग सँगै खेल्न नदिने उनीहरुले छोएको खाने कुराहरु नखाने देखि लिएर घरमा पस्न नदिने सम्मको नियमले हामीलाई सानैदेखि बाँधेको हुन्थ्यो । तर यो कुरा मेरो माइला बुबाले कहिले स्विकार्नु भएन । उहाँ राजनीति गर्नु हुन्थ्यो सायद धेरै कुराहरु बुझेर गर्नु भएको थियो होला । सायद उहाँ अहिले जिवित हुनुहुन्थ्यो भने नेपाली राजनितीमा कही न कतै पक्कै स्थापित हुनुहुन्थ्यो होला । तर भाग्यले उहाँलाई साथ थिएन । खैर केही छैन म उहाँको सोचाइबाट निक्कै प्रभावित भएको थिए । आज म जहाँ छु त्यसको देन म उहाँलाई नै दिन्छु । दलित आफन्तहरूसँग भेट्दा आज मेरो छाती गर्वले चौडा हुने गर्छ ।
त्यो गाउँमा छुवाछूतको अन्त्य मेरो माइला बुबाको प्रयासले नै सम्भव भएको थियो । मितको सम्बन्ध रगतको नाता जत्तिकै बलियो हुन्छ, भन्छन् गाउँमा छुवाछूत अन्त्य गर्न मेरो माइला बुबाको पहिलो कदम दलितसँग मित लगाउनु थियो । यति मात्र होइन उहाँले घरमासमेत भित्र्याउनुभयो । एक दलित व्यक्तिसँग मित लगाएर आफ्नो घरमा भित्र्याउनु मात्र भएन स सम्मानका साथ आफन्तको रुपमा स्वीकार गर्नुभयो । उहाँको मितेरी साइनोले गाउँमा सबैलाई दलितसँग नाता जोड्न बाध्यता जस्तै बन्यो । पछि गाउँकै जान्ने बुझ्ने मान्छेले निर्णय गरिसकेपछि सबैलाई पानी चलाउन र घर भित्र पस्न दिन ठूलो कुरा भएन । फेरि गाउँमा माइला बुबाको कुरा काट्ने मान्छे पनि कमै थिए । अनि हामीलाई हाम्रा दलित साथीहरूसँग नाता जोडिसकेपछि सँगै खेल्नदेखि उनीहरुले स्कुलमा लिएको खाजा बाँडेर खानेसम्मको छुट भयो ।
विस्तारै समय पनि परिवर्तन हुदै गयो र हाम्रो घरका लुगा सिलाउनेदेखि विवाह भोजमा बाजा बजाउने इमान दमाई र भाबाङ्गी दमाई दाइसम्म हाम्रो नाता जोडियो । अनि हाम्रो भाँडा हँसिया खुकुरी कुटो, कोदालो बनाइदिने हाम्रो आफ्नै मित बुबा हुनुभयो । मलाई त्यो घटना अझै ताजै लाग्छ सानो छदा ‘मलाई सानै खुकुरी चाहिन्छ’ भन्दै रोएको थिए । धेरै जिद्दीपछि मित बुबाले सानो खुकुरी बनाइदिनुभयो । त्यो खुकुरी नचाउँदै म खुशी भएको थिए । मित आमाले दुधमा चिनी मिसाएर त्यसमा गहुँको रोटी भिजाएर खान दिएको मलाई आज जस्तै लाग्छ । मित बुबाका छोराछोरीहरु ३ बहिनी छोरी २ भाइ छोरा हुनुहुन्छ । हामी गाउँमा हुदा सधैं भाइ टिका उहाँहरूको हातबाट पनि लगाउने गर्थ्यौ । मान्छेको सोचले परिवर्तन आउने हो, यो वा त्यो बाहाना बनाएर दलितलाई सधै दोस्रो दर्जाको भनेर हेप्नेहरु हो, कहिले आउँछ तिमीहरूको वुद्धि ।
जातमा के नै राखेको छ र ? म सधै उहाँहरुलाई भेट्दा खुलेर भन्न सक्छु की उहाँहरुसँग मेरो रगतको भन्दा गहिरो नाता छ । अहिले उहाँहरूसँग भेट नभएको धेरै समय भइसक्यो तर फोनमा कहिलेकाही कुराकानी हुने गर्छ । मलाई उहाँहरूको प्रगति सुन्न पाउँदा ज्यादै खुशी लाग्छ । जेठी दिदी शिक्षिका हुनुहुन्छ । रोल्पा कै एउटा गाउँमा लामो समयदेखि पढाउदै आउनु भएको छ । माइली दिदी पत्रकार हुनुहुन्छ उहाँ पनि लामो समयदेखि नै रेडियो तथा पत्रपत्रिकामा काम गर्नुहुन्छ । उहाँले पत्रिकामा लेखेका समाचारहरु आइरहन्छन् । कान्छी दिदी आर्मीमा हुनुहुन्छ सायद काठमाडौंमा हुनुहुन्छ । फोन गरेर काठमाडांै आएर पनि कहिले सम्झिन्नस है भनेर गाली पनि गर्नु हुन्छ अब काठमाडौ आए भने अवश्य भेट्ने छु दिदी । जेठा दाइ स्वास्थ्यकर्मी एच.ए पढ्नु भएको हो ।
अहिले जंकोट कै स्वास्थ चौकी प्रमुख हुनु भएको छ । कान्छो भाइ सानैदेखि गित संगितसँग नजिक थियो अहिले काठमाडौं कै एउटा सांगीतिक ब्यान्डसँग जोडिएर गितार बजाएको गित गाएको कहिले पोखरा कहिले धरान कहिले झापा पुगेको सुन्दर फोटोहरु फेसबुकमा राखिरहेको देख्न सकिन्छ । अझै प्रगति भएको सुन्न पाउँ सम्पूर्णलाई शुभकामना । आज माइला बुबा हामी माझ नभएता पनि उहाँको मार्गनिर्देशन सधैं निरन्तर भइरहने छ । प्रिय माइला बुबा स्व.अमर बहादुर ओलीप्रति श्रद्धा सुमन !!
समिर ओली
