वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुशीराम चौधरीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष चौधरीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामीले चुनावको समयमा जनताहरुलाई जुन बाचा गरेका थियौैं, त्यहीअनुसार अगाडी बढेका छौं । हामीले जनताहरुसँग आफ्नै भवनमा स्वास्थ्य केन्द्र निर्माण गर्ने, किसानकोलागि छुट्टै हाटबजार सञ्चालन गर्ने भनेका थियौं । अहिले त्यो काम हामीले सुरु गरिसकेका छौं । विशेषगरी वडा नम्बर १२ खोलाले घेरिएको वडा हो । पूर्वतर्फ ग्वारखोला, दक्षिणमा बबई नदीले घेरिएको छ । यो खोला नजिकै रहेका बस्तीलाई बाढीबाट जोगाउनकोलागि तटबन्ध कसरी गर्नेलगायत सुशासनयुक्त वडा बनाउने बाचा गरेका थियौं । हामीले खेलामा तटबन्ध गर्ने काम गरिरहेका छौं । युएसएआइडी, तयार नेपालको सहयोगमा बबई नदीमा करिब ३ सय ४० मिटर तटबन्ध गर्न सफल भएका छौ । जुन तटबन्धले हजारौं जनसमुदायलाई राहत पुगेको छ । वर्षाको समयमा त्यहाँका समुदाय जागाराम बस्नु परेको थियो । अहिले त्यहाँका बासिन्दा सुरक्षित हुनु भएको छ । त्यस्तै बाटोको हकमा हामीले केन्द्र र प्रदेश सरकारसँग हारगुहार गरेका छौं, अहिले धेरै ठाउँमा कालोपत्रे र धेरै ठाउँमा नाला निर्माणको काम भइरहेको छ । वडा र पालिकाको हकमा पनि बजेट कम थियो । तरपनि हामीले भौतिक पूर्वाधारमा बजेट बिनियोजन गरेका थियौं । ती सबै बजेट नालामा खर्च गरेका छौ । यस पटक पनि ३५ लाख बजेटबाट १७ लाख भौतिक पूर्वाधारकोलागि छुट्याका छौं र बाँकी चालु खर्चमा व्यवस्थापन गरेका हौ । यस पटक पनि हामीले चालु खर्चलाई घटाएर करिब ९५ लाख पैसा भौतिक पूर्वाधारमै खर्च गरेका छौं । अन्य वडामा के छ थाहा छैन् । स्वास्थ्यको हकमा निकट भविष्यमै हामीले आफ्नै स्वास्थ्य भवनमा सर्ने गरी काम गरिरहेका छौं । त्यसैगरी गत वर्ष ३४ लाख रुपियाँ कृषि हाट बजारकोलागि खर्च भएको थियो । शिक्षा क्षेत्रमा हामीले राप्ती बबई क्याम्पसको भवन निर्माणकोलागि जोड दिएका छौं । यो क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनतर्फ जोड गरेका छौं । मेटे कलेजलाई पनि सिटिइभिटिको आंगिक क्याम्पस बनाउने हाम्रो सोच छ । बाँकी जनतालाई सुशासन प्रदान गर्ने, सरकार हाम्रै पक्षमा छ भन्ने अनुभूति दिने हिसावले काम गरेका छौ । हाम्रो वडामा रहेको सामुदायिक विद्यालयलाई अगाडी बढाउने विषयमा पनि हामी लागेका छौं । त्यसकालागि हामीले गत वर्ष शिक्षकहरुलाई तालिमको व्यवस्था गरेका थियौं । उक्त तालिममा रिटायर्ड शिक्षकहरुलाई अनुगमनको जिम्मा दिएका थियौं, र उहाँहरुले दिएको प्रतिवेदनको आधारमा सामुदायिक विद्यालयको जगमा टेकेर अगाडी बढेका थियौं, त्यसको राम्रो परिणाम आयो । त्यही तालिमको जगमा टेकेर यो वर्ष हामीले विद्यालयमा अक्षर सुधार कार्यक्रमकालागि बजेट बिनियोजन गरेका छौ । विद्यालयमा जनशक्तिको अभाव परिपूर्ति गर्न अनुदानको व्यवस्था गरेका छौं ।
तर पनि जनताहरुलाई बाचा गरेअनुसार धेरै कामहरु पुरा गर्न सकेका छैनौ । जनताहरुको अपेक्षा र बजेटको व्यवस्थापनको हकमा तालमेल मिलेको छैन । जनताहरुको अपेक्षा अनुसार अगाडी बढ्न करोडौंको बजेट चाहिन्छ । तर बजेट न्युन छ । जसले चुनावको समयमा गरेको बाचा पुरा गर्न समस्या भएको छ । यद्यपी जनताहरुको चाहना पूरा गर्ने कसरतमा हामी लागेका छौं ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?
हामीले हरेक विषयमा, हरेक योजना बनाउँदा, योजना कार्यान्वयन गर्ने विषयमा हामी जनप्रतिनिधिहरु बीच गहन छलफल गर्ने गरेका छौं । र त्यो छलफलले बैज्ञिानिक सोचका साथ, वैज्ञानिक निष्कर्ष निकालोस् भन्ने सोचका साथ हामी अगाडी बढेका छौ । जसले गर्दा हाम्रो वडाबाट सबैको अपनत्व हुने गरि काम अगाडी बढाउन सहज भएको छ । यो वर्ष पनि हामीले सामुदायिक विद्यालयमा पढ्ने विपन्न, दलित ३२ जना विद्यार्थीहरुलाई हामी पाँचै जना जनप्रतिनिधि टोल टोलमा खटेर विद्यार्थीको अवस्था बुझेर कपडा वितरण गरेका थियौं । त्यसैगरी १० जना विपन्न, एकल महिलाहरुलाई बाख्रा वितरण गरेका थियौं । हेर्दा बाख्रा सामान्य लाग्ला तर हामीले एकल महिलाहरुलाई बाख्रा दिएर केही आर्यआर्जन गर्न सहज होला भनेर बाख्रा दिएका थियौं, यो काम पनि सबै जनप्रतिनिधिले गरेका हांै । गाउँघरमा रहेका सोडेनी, गुरुवा महटवाहरुलाई मेलमिलाप सम्बन्धी तालिम दिएका थियौं, जसले गर्दा गाउँघरमा हुने ससाना समस्या उहाँहरु गाउँघरमै मिलाउँदै आउनु भएको छ । त्यस्तै समाजमा विभिन्न खालमा संस्कार, संस्कृति भेषभूषा संरक्षण गर्नेतर्फ लागेका छौं । तर पनि मान्छे सबै विषयमा खुशी हुन सक्दैन । कुनै न कुनै विषयमा गुनासोहरु त आउँछ नै, तर हामी कुनै कार्यक्रम गर्दा, सहकार्य गरेर अगाडी बढेका छौं । तर मैले दावीका साथ भन्नु सक्छु मेरो वडामा मेरो अनुपस्थितिमा कार्यवहाकको जिम्मेवारी दिंदा सबै सदस्यहरुलाई पालैपालो दिएको हुन्छु । सबै वडा सदस्यले केही कुरा सिक्न पाउँनु पर्छ भनेर मैले सबैलाई मिलाएर कार्यवहाकको जिम्मेवारी दिएको हुन्छु ।
३-वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?
वडाको समृद्धिकालागि भावी योजना त धेरै छन् । मैले सुरुमा पनि भनेको थिएँ । हाम्रो वडाको सबै बाटोहरुमा नालासहित कालोपत्रे गर्ने हाम्रो भावी योजना छ । त्यसैले हामीले नालाको काममा फोकस गरेका छौं । खोलानालाको समस्या हल गर्नेतर्फ हामीलाई निरन्तर चिन्तित बनाएको छ । केही संस्कृतिसँग जोडिएको विषय छ, जस्तै पर्यटकीय क्षेत्र सितलपुरसहित, नजिकै रहेको आर्यघाटलाई व्यवस्थित गर्ने विषयमा चिन्तित छौ । त्यसैगरी टरिगाउँ एयरपोट सबैको ओठमा झुण्डिएको छ । यो एयरपोटलाई सबैको साझा अपनत्व हुनेगरि, कसरी अपेक्षाकृत एयरर्पोट विस्तार गर्नेतर्फ हामी नियमित रुपमा लागीरहेका छौं । त्यसैगरी पश्चिम क्षेत्रमा सबैको ढुकढुकीको रुपमा रहेको राप्ती बबई क्याम्पस व्यवस्थित गर्ने लगायतका धेरै योजनाहरु छन् । जुन योजना कतिपय हाम्रो पहुँचभित्र छ भने, कतिपय हाम्रो पहुँचभन्दा बाहिर छ । पहुँचभन्दा बाहिर रहेकोलाई बाहिरबाट लविंग गर्ने, यो क्याम्पस हामी सबैको हो भन्ने अपनत्व सृजना गर्ने खालको काममा निरन्तरता दिइरहेका छौं ।
४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
हामी जनप्रतिनिधिको बुझाई के छ भने, एक सामान्य व्यक्तिले कुनै कुराको जिज्ञासा राख्दा होस् या कुनै कामको अपेक्षा गर्यो भने हामीले गर्नु पर्छ भन्ने हाम्रो बुझाई छ । जुन दिन हामीले जनताहरुको धेरै सेवा गरेका हुन्छौ, त्यसैमा जो सबै भन्दा विपन्न, गरिब मान्छे हो, उस्को अपेक्षाकृत काम गरेका हुन्छौ, त्यो दिन हामी एकदमै उत्साहित भएका हुन्छौ । जुन दिन हामीले जनताको सेवा गर्न पाउँदैनौ, त्यो दिन हामी एकदमै निरास हुन्छौ । हाम्रो त जनताहरु नै सम्पत्ती हो । उहाँहरुलाई मूख्य मानेर अगाडी बढ्नु पर्छ भन्ने हाम्रो मान्यता छ । र त्यही अनुसार उहाँहरुको समस्या, गुनासो सम्बोधन हुने खालको काम गरिरहेका छौ । हामीहरु वडाबाट सञ्चालन गर्ने कार्यक्रम पनि जनमुखी बनाएका छौ ।
५-सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यसको निम्ति तपाईको तयारी के छ ?
दिगो विकासकोलागि हामीले धेरै तयारी गरेका छौ । दिगो विकासका लक्ष्य प्राप्त गर्न केही सहज होस् भनेर हामीले विउपूजी भन्ने कार्यक्रम बनाएका छौ । यो कार्यक्रममा विशेष त विपन्न तथा एकल महिलाहरुलाई बढी प्राथमिकतामा राखेका छौ । त्यसैमा पनि बढी हिंसा पीडितलाई पहिलो प्राथमिकतामा राखेर उहाँहरुको लागि एकलाख रुपैया विउपुँजीमा राखेका छौ, र त्यो पैसा निश्चितलाई छनोट गरेर छ महिना, एक वर्षकोलागि पाँच जनालाई प्रयोग गर्न दिइराखेका हुन्छौ । जसले गर्दा उहाँहरुको काम सहज रुपले चलोस् र निर्धारित समय समाप्ती पछि निश्चित ठाउँमा जम्मा गर्ने, फेरी अर्को वर्ष रोटेशनमा लगाउने योजना छ । जसले गर्दा सामान्य परिवारलाई आयआर्जनमा सहजता हुने अपेक्षासहित अगाडी बढ्ने योजना छ । दिगो विकासँग सम्बन्धित धेरै योजनाहरु छन् । तर ती योजनासँगै बजेट केही तालमेल नमिलेको अवस्था हो । हाम्रो वडामा रहेको नगर स्वास्थ्य केन्द्रलाई स्वास्थ्य चौकी बनाउन चाहेका छौ । कृषि हाट बजारलाई अगाडी बढाएर त्यहाँका किसानलाई स्थायित्व दिने सोच छ ।
