• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरी)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरी)


  • 6.5K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 10.0K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरी)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुशीराम चौधरीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष चौधरीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।

    images

    १-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हामीले चुनावको समयमा जनताहरुलाई जुन बाचा गरेका थियौैं, त्यहीअनुसार अगाडी बढेका छौं । हामीले जनताहरुसँग आफ्नै भवनमा स्वास्थ्य केन्द्र निर्माण गर्ने, किसानकोलागि छुट्टै हाटबजार सञ्चालन गर्ने भनेका थियौं । अहिले त्यो काम हामीले सुरु गरिसकेका छौं । विशेषगरी वडा नम्बर १२ खोलाले घेरिएको वडा हो । पूर्वतर्फ ग्वारखोला, दक्षिणमा  बबई नदीले घेरिएको छ । यो खोला नजिकै रहेका बस्तीलाई बाढीबाट जोगाउनकोलागि तटबन्ध कसरी गर्नेलगायत सुशासनयुक्त वडा बनाउने बाचा गरेका थियौं । हामीले खेलामा तटबन्ध गर्ने काम गरिरहेका छौं । युएसएआइडी, तयार नेपालको सहयोगमा बबई नदीमा करिब ३ सय ४० मिटर तटबन्ध गर्न सफल भएका छौ । जुन तटबन्धले हजारौं जनसमुदायलाई राहत पुगेको छ । वर्षाको समयमा त्यहाँका समुदाय जागाराम बस्नु परेको थियो । अहिले त्यहाँका बासिन्दा सुरक्षित हुनु भएको छ । त्यस्तै बाटोको हकमा हामीले केन्द्र र प्रदेश सरकारसँग हारगुहार गरेका छौं, अहिले धेरै ठाउँमा कालोपत्रे र धेरै ठाउँमा नाला निर्माणको काम भइरहेको छ । वडा र पालिकाको हकमा पनि बजेट कम थियो । तरपनि हामीले भौतिक पूर्वाधारमा बजेट बिनियोजन गरेका थियौं । ती सबै बजेट नालामा खर्च गरेका छौ । यस पटक पनि ३५ लाख बजेटबाट १७ लाख भौतिक पूर्वाधारकोलागि छुट्याका छौं र बाँकी चालु खर्चमा व्यवस्थापन गरेका हौ । यस पटक पनि हामीले चालु खर्चलाई घटाएर करिब ९५ लाख पैसा भौतिक पूर्वाधारमै खर्च गरेका छौं । अन्य वडामा के छ थाहा छैन् । स्वास्थ्यको हकमा निकट भविष्यमै हामीले आफ्नै स्वास्थ्य भवनमा सर्ने गरी काम गरिरहेका छौं । त्यसैगरी गत वर्ष ३४ लाख रुपियाँ कृषि हाट बजारकोलागि खर्च भएको थियो । शिक्षा क्षेत्रमा हामीले राप्ती बबई क्याम्पसको भवन निर्माणकोलागि जोड दिएका छौं । यो क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनतर्फ जोड गरेका छौं । मेटे कलेजलाई पनि सिटिइभिटिको आंगिक क्याम्पस बनाउने हाम्रो सोच छ । बाँकी जनतालाई सुशासन प्रदान गर्ने, सरकार हाम्रै पक्षमा छ भन्ने अनुभूति दिने हिसावले काम गरेका छौ । हाम्रो वडामा रहेको सामुदायिक विद्यालयलाई अगाडी बढाउने विषयमा पनि हामी लागेका छौं । त्यसकालागि हामीले गत वर्ष शिक्षकहरुलाई तालिमको व्यवस्था गरेका थियौं । उक्त तालिममा रिटायर्ड शिक्षकहरुलाई अनुगमनको जिम्मा दिएका थियौं, र उहाँहरुले दिएको प्रतिवेदनको आधारमा सामुदायिक विद्यालयको जगमा टेकेर अगाडी बढेका थियौं, त्यसको राम्रो परिणाम आयो । त्यही तालिमको जगमा टेकेर यो वर्ष हामीले विद्यालयमा अक्षर सुधार कार्यक्रमकालागि बजेट बिनियोजन गरेका छौ । विद्यालयमा जनशक्तिको अभाव परिपूर्ति गर्न अनुदानको व्यवस्था गरेका छौं । 
    तर पनि जनताहरुलाई बाचा गरेअनुसार धेरै कामहरु पुरा गर्न सकेका छैनौ । जनताहरुको अपेक्षा र बजेटको व्यवस्थापनको हकमा तालमेल मिलेको छैन । जनताहरुको अपेक्षा अनुसार अगाडी बढ्न करोडौंको बजेट चाहिन्छ । तर बजेट न्युन छ । जसले चुनावको समयमा गरेको बाचा पुरा गर्न समस्या भएको छ । यद्यपी जनताहरुको चाहना पूरा गर्ने कसरतमा हामी लागेका छौं । 
                                                                                                                                                       

    २-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?

    हामीले हरेक विषयमा, हरेक योजना बनाउँदा, योजना कार्यान्वयन गर्ने विषयमा हामी जनप्रतिनिधिहरु बीच गहन छलफल गर्ने गरेका छौं । र त्यो छलफलले बैज्ञिानिक सोचका साथ, वैज्ञानिक निष्कर्ष निकालोस् भन्ने सोचका साथ हामी अगाडी बढेका छौ । जसले गर्दा हाम्रो वडाबाट सबैको अपनत्व हुने गरि काम अगाडी बढाउन सहज भएको छ । यो वर्ष पनि हामीले सामुदायिक विद्यालयमा पढ्ने विपन्न, दलित ३२ जना विद्यार्थीहरुलाई हामी पाँचै जना जनप्रतिनिधि टोल टोलमा खटेर विद्यार्थीको अवस्था बुझेर कपडा वितरण गरेका थियौं । त्यसैगरी १० जना विपन्न, एकल महिलाहरुलाई बाख्रा वितरण गरेका थियौं । हेर्दा बाख्रा सामान्य लाग्ला तर हामीले एकल महिलाहरुलाई बाख्रा दिएर केही आर्यआर्जन गर्न सहज होला भनेर बाख्रा दिएका थियौं, यो काम पनि सबै जनप्रतिनिधिले गरेका हांै । गाउँघरमा रहेका सोडेनी, गुरुवा महटवाहरुलाई मेलमिलाप सम्बन्धी तालिम दिएका थियौं, जसले गर्दा गाउँघरमा हुने ससाना समस्या उहाँहरु गाउँघरमै मिलाउँदै आउनु भएको छ । त्यस्तै समाजमा विभिन्न खालमा संस्कार, संस्कृति भेषभूषा संरक्षण गर्नेतर्फ लागेका छौं । तर पनि मान्छे सबै विषयमा खुशी हुन सक्दैन । कुनै न कुनै विषयमा गुनासोहरु त आउँछ नै, तर हामी कुनै कार्यक्रम गर्दा, सहकार्य गरेर अगाडी बढेका छौं । तर मैले दावीका साथ भन्नु सक्छु मेरो वडामा मेरो अनुपस्थितिमा कार्यवहाकको जिम्मेवारी दिंदा सबै सदस्यहरुलाई पालैपालो दिएको हुन्छु । सबै वडा सदस्यले केही कुरा सिक्न पाउँनु पर्छ भनेर मैले सबैलाई मिलाएर कार्यवहाकको जिम्मेवारी दिएको हुन्छु ।  

    ३-वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?

    वडाको समृद्धिकालागि भावी योजना त धेरै छन् । मैले सुरुमा पनि भनेको थिएँ । हाम्रो वडाको सबै बाटोहरुमा नालासहित कालोपत्रे गर्ने हाम्रो भावी योजना छ । त्यसैले हामीले नालाको काममा फोकस गरेका छौं । खोलानालाको समस्या हल गर्नेतर्फ हामीलाई निरन्तर चिन्तित बनाएको छ । केही संस्कृतिसँग जोडिएको विषय छ, जस्तै पर्यटकीय क्षेत्र सितलपुरसहित, नजिकै रहेको आर्यघाटलाई व्यवस्थित गर्ने विषयमा चिन्तित छौ । त्यसैगरी टरिगाउँ एयरपोट सबैको ओठमा झुण्डिएको छ । यो एयरपोटलाई सबैको साझा अपनत्व हुनेगरि, कसरी अपेक्षाकृत एयरर्पोट विस्तार गर्नेतर्फ हामी नियमित रुपमा लागीरहेका छौं । त्यसैगरी पश्चिम क्षेत्रमा सबैको ढुकढुकीको रुपमा रहेको राप्ती बबई क्याम्पस व्यवस्थित गर्ने लगायतका धेरै योजनाहरु छन् । जुन योजना कतिपय हाम्रो पहुँचभित्र छ भने, कतिपय हाम्रो पहुँचभन्दा बाहिर छ । पहुँचभन्दा बाहिर रहेकोलाई बाहिरबाट लविंग गर्ने, यो क्याम्पस हामी सबैको हो भन्ने अपनत्व सृजना गर्ने खालको काममा निरन्तरता दिइरहेका  छौं ।

    ४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?

    हामी जनप्रतिनिधिको बुझाई के छ भने, एक सामान्य व्यक्तिले कुनै कुराको जिज्ञासा राख्दा होस् या कुनै कामको अपेक्षा गर्यो भने हामीले गर्नु पर्छ भन्ने हाम्रो बुझाई छ । जुन दिन हामीले जनताहरुको धेरै सेवा गरेका हुन्छौ, त्यसैमा जो सबै भन्दा विपन्न, गरिब मान्छे हो, उस्को अपेक्षाकृत काम गरेका हुन्छौ, त्यो दिन हामी एकदमै उत्साहित भएका हुन्छौ । जुन दिन हामीले जनताको सेवा गर्न पाउँदैनौ, त्यो दिन हामी एकदमै निरास हुन्छौ । हाम्रो त जनताहरु नै सम्पत्ती हो । उहाँहरुलाई मूख्य मानेर अगाडी बढ्नु पर्छ भन्ने हाम्रो मान्यता छ । र त्यही अनुसार उहाँहरुको समस्या, गुनासो सम्बोधन हुने खालको काम गरिरहेका छौ । हामीहरु वडाबाट सञ्चालन गर्ने कार्यक्रम पनि जनमुखी बनाएका छौ ।

    ५-सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यसको निम्ति तपाईको तयारी के छ ?

    दिगो विकासकोलागि हामीले धेरै तयारी गरेका छौ । दिगो विकासका लक्ष्य प्राप्त गर्न केही सहज होस् भनेर हामीले विउपूजी भन्ने कार्यक्रम बनाएका छौ । यो कार्यक्रममा विशेष त विपन्न तथा एकल महिलाहरुलाई बढी प्राथमिकतामा राखेका छौ । त्यसैमा पनि बढी हिंसा पीडितलाई पहिलो प्राथमिकतामा राखेर उहाँहरुको लागि एकलाख रुपैया विउपुँजीमा राखेका छौ, र त्यो पैसा निश्चितलाई छनोट गरेर छ महिना, एक वर्षकोलागि पाँच जनालाई प्रयोग गर्न दिइराखेका हुन्छौ । जसले गर्दा उहाँहरुको काम सहज रुपले चलोस् र निर्धारित समय समाप्ती पछि निश्चित ठाउँमा जम्मा गर्ने, फेरी अर्को वर्ष रोटेशनमा लगाउने योजना छ । जसले गर्दा सामान्य परिवारलाई आयआर्जनमा सहजता हुने अपेक्षासहित अगाडी बढ्ने योजना छ । दिगो विकासँग सम्बन्धित धेरै योजनाहरु छन् । तर ती योजनासँगै बजेट केही तालमेल नमिलेको अवस्था हो । हाम्रो वडामा रहेको नगर स्वास्थ्य केन्द्रलाई स्वास्थ्य चौकी बनाउन चाहेका छौ । कृषि हाट बजारलाई अगाडी बढाएर त्यहाँका किसानलाई स्थायित्व दिने सोच छ ।


    तेस्रो आँखा