• ट्रेण्डिङ्ग :
सम्पदा संरक्षणमा युवा सहभागिता किन आवश्यक छ ?

सम्पदा संरक्षणमा युवा सहभागिता किन आवश्यक छ ?


  • 51.7K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 79.5K Views

    सम्पदा संरक्षणमा युवा सहभागिता किन आवश्यक छ ?

    काठमाडाैं, ७ फागुन । नेपालको कानुनले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवा भनेर परिभाषित गरेको छ। हरेक देशका नियम, कानून र परिधिहरूले निश्चित उमेर वर्गका मान्छेहरुलाई युवा भन्ने गरेका छन। तर पनि हामीले बुझ्नु पर्ने कुरा के छ भने युवा उमेरले भन्दा पनि सोचले हुने कुरा हो। 

    images

    हामिले त्यस्तो व्यक्तिलाई मात्र युवा मान्नु पर्छ जसले आफ्नो सोच, उर्जा, शक्ति र क्षमताबाट परिवार, समाज र राष्ट्रलाई नै सकारात्मक दिशातिर उन्मुख गराउन पहल गर्छ ।  नेपालको परिवेशमा युवाहरुको बारेमा बोल्दा, लेख्दा वा जान्दा के कुरामा हामी संवेदनशील हुन जरुरी छ भने एकातिर देशमा बेरोजगारी छ,  युवाहरू विदेशीयका छन।  युवाहरूमा नयाँ सोच भएन भनेर पनि हामी सुनिरहेका हुन्छौँ। अर्कोतिर देशकै निम्ति, माटोकै निम्ति, जन्मभूमि मै कर्म थलो बनाएर  केही गर्ने इच्छा भएका युवाहरूमा पनि पछिल्लो समय निराशा छाइरहेको छ। 

     हाम्रो देश बिकाशशील देश हो। जमिन र जनसंख्या थोरै भएता पनि नेपाल  प्रकृति र संस्कृतिले सिङ्गारिएको छ। हाम्रो देश जैविक विविधता भएको देश हो। सुन्दर भू–बनावट र  प्राकृतिक सुन्दरता नेपालको पहिचान हो। नेपाल ऋषिमुनीहरुले तपस्या गरेको तपोभूमि भनेर पनि चिनिन्छ। बुद्ध ,सीता र जनकहरूको भूमि भनेर नेपाललाई चिनिन्छ।  चार वर्ण र छत्तिस जातको साझा फुलबारीको रुपमा, अनेकतामा एकता भएको देश नेपाल हो।  विविधतामा एकता जहाँ हुन्छ त्यो देश साच्चिकै सुन्दर हुन्छ जसरी आकाशमा इन्द्रेणीले  विविध  रङ्गहरु पोखेर एउटा नयाँ खालको रोमान्चक रुप दिन्छ। 

    नेपालमा  जातीय, धार्मिक र सास्कृतिक विविधता छ, समाज र प्रकृतिमा विविधता छ। जैविक र भौगोलिक विविधता छ। यथार्थमा यही नै हाम्रो लागि ठूलो सम्पत्ति हो।  यो नै हाम्रा लागि गहना हो जुन कुरा हामी अर्बौं खर्च गरेर प्राप्त गर्न सक्दैनौ।  जाति जनजातिहरुको परम्परा, रितिरिवाज, संस्कार, संस्कृतिहरुको संरक्षण गरेर मात्र हामीले देशको सान र मान उच्च राख्न सक्छौँ।

    खुशीको   कुरा के छ भने देशका युवाहरूले  पनि हाम्रो संस्कृति र सम्पदाको संरक्षण र प्रबर्धनमा  रुचि देखाएका छन। साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसारको खातिर यूवाहरू  कलम चलाउदै छन, बोल्दै छन। साँच्चै भन्नु पर्दा हाम्रा सम्पदाहरूको संरक्षण र प्रचार गर्ने अनि भावी पुस्ताहरूलाई हस्तान्तरण गर्ने जिम्मा यूवाहरूकै हो। हाम्रा सम्पदा र धरोहर भनेका  रास्ट्रका सम्पत्ति हुन। ती सम्पदा र धरोहरहरूले  राष्ट्रलाई विश्व रङमन्चमा चिनाउँछन। नेपाललाई विश्वसामु चिनाउने धरोहरहरूमा चाँदी झै टल्कने हिम शृङ्खलाहरु हुनसक्छन्, न्यातपोल, पशुपतिनाथ र   बौद्धनाथ जस्ता   मन्दिरहरु र गुम्बाहरू हुन सक्छन। धरहरा, बिभिन्न दरबारहरू जस्ता ऐतिहासिक सम्पदाहरु हुन सक्छन। नेपालमै लुम्बिनी, जनकपुर जस्ता ऐतिहासिक स्थलहरू छन।

    नेपालमै मानवहरुले छोडेर गएका प्राचीन अवशेष भेटिएका छन।  त्यस्ता  पुरातात्वीक र  प्राचीन  महत्वका क्षेत्रहरु नेपालमै छन। पाँचऔले र यार्सागुम्बा जस्ता बनस्पतिहरु, बुकी फुल्ने फाँटहरु, बन्यजन्तु र पसुपंछी हुने निकुञ्जहरु, कलकल बग्ने नदीहरु झरझर झर्ने झरनाहरु, ती भिर पाखाहरु, ती गोरेटा, घोरेटा अनि चखरेटा बाटाहरु, खप्तडदेखि ताप्लेजुङ पाथीभरासम्मका अनेकौं त्यस्ता धार्मिक, ऐतिहासिक,सास्कृतिक र प्राकृतिक सम्पदाहरु हाम्रा जीवन र गौरवका आधारहरू हुन।   सम्पदाको संरक्षण एकदिनको एकजनाको प्रयासले, एउटाको भाषणले वा किताबमा लेखेर हुने कुरा होइन।  सम्पदा संरक्षण  गर्नका खातिर हुटहुटी हुन जरुरी छ एउटा अठोट हुन जरुरी छ।

    पंक्तिकारको गृह जिल्ला दाङमा धारपानी, चौघेरा, छिल्लिकोट, अंबिकेश्वरी जस्ता सास्कृतिक सम्पदाहरु प्रसस्तै छन। देउखुरीका बगर बाबा दाङकै सबैभन्दा ठूलो मन्दिर कोइलाबासको राम जानकी, जङ्गल कुटि त्यसपछि अहिले जातीय संग्रहालयको रूपमा चर्चित चखौराको थारू राष्ट्रिय संग्रहालय, पुरन्धाराको झरना, चमेरी गुफा  ग्रामीण पर्यटनका हिसाबले सम्भावना बोकेका स्थलहरू हुन।  हजारौ वर्ष पुरानो इतिहास   बोकेका थारू जातिहरुले आफ्नो अमुल्य सास्कृतिलाइ सम्पदाको रूपमा संरक्षण गरेका छन् । दाङजस्तै बाँकी ७६ जिल्लाहरूमा पनि यस्तै  विविधताहरु पाइन्छन्।

    हामी युवाहरूका धेरै रहर र  आकाङ्क्क्षाहरू हुन्छन तर ती रहर र आकाङक्षाहरूलाई आवश्यक्ताहरूसङ्ग तालमेल गरेर अगाडि बढ्नु पर्ने हुन्छ। व्यक्तीगत र पारिवारिक काम र समयसँगसङै हामीहरूले केही समय समाज र देशकालागि छुट्याउनु पर्छ। यो हाम्रो नागरिक दायित्व पनि हो, नागरिक हुनुको भाव पनि हो। समाज र देशकालागि गरिने अनेक कामहरू मध्य राष्ट्रिय धरोहर र सम्पदाहरूको संरक्षण र प्रचारप्रसार युवाहरूले गर्नु पर्ने महत्वपूर्ण काम हो।

    हामी युवाहरुले राष्ट्रिय सम्पदाहरूको सरसफाइ गर्न सक्छौँ। थोरै समय निकालेर आफ्नो समुदायका पानीका स्रोतहरुलाइ सरसफाइ गर्न सक्छौ। मन्दिरका छाना र  भित्ताहरुमा रङरोगन गर्न सक्छौँ । टुडालहरू, पाटी र पौवाहरु सफा गर्न सक्छौ। हाम्रो गाउघर र शहरबजारमा घुम्न आउने अतिथि र पर्यटकहरूलाई सेवा सत्कार गर्न सक्छौ। पर्यटकहरूलाई लक्षित गरेर प्राथमिक स्वास्थ्य  उपचारको व्यवस्था गर्न सक्छौँ ।

    मेला महोत्सवहरुको  व्यवस्थापनमा स्वयमसेवक  भएर  सहयोग गर्न सक्छौ। विभिन्न माध्यमबाट हाम्रा धरोहर र सम्पदाको प्रचारप्रसार गर्न पनि युवाहरूको भूमिका हुन्छ। ती धरोहरहरुको संरक्षण, सम्वर्धन र बिकास गरेर  विभिन्न देशका पर्यटकहरुलाई नेपाल  भित्र्याउन सक्छौँ  र आन्तरिक रूपमा पनि एक ठाँउ बाट अर्को ठाउँमा स्वदेशकै नेपाली  धरोहर र सम्पदाको अवलोकन गर्न जान सक्ने अवस्था बन्छ। यसले राष्ट्रको अर्थतन्त्रलाई पनि गतिशील पार्न सहयोग गर्छ । सम्पदाको संरक्षणले पर्यटन उद्योगको बिकास हुन्छ र देशमै रोजगारिको अवसर सिर्जना गर्दछ। यसले विदेशिन बाध्य नेपाली युवाहरुलाई नेपालमै रोजगारको अवसर दिन्छ। यो आम युवाहरू र देशको निम्ति नै सुखद कुरा हुन जान्छ।

    आजको आवश्यकता भनेको यूवाहरूलाई राष्ट्रप्रेम, जन्मभूमिप्रतिको उत्तरदायित्व र भावी पुस्तालाई सुरक्षित नेपाल हस्तान्तरण गर्ने कुरा सिकाउन जरूरी छ। उनिहरूलाई  आफ्नो बुद्धि, विवेक, सोच अर्थात तन, मन, वचन, कर्म सबै यही माटोमा खर्च गर्न सक्ने वातावरण बनाउन जरुरी छ। हृदयमा इमान्दारी काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारीकासाथ अगाडि बढ्न युवाहरूलाई प्रेरित गरेर मात्र हामीले हाम्रा धरोहर, हाम्रा सम्पदा र हाम्रो स्वाभिमान बचाउन सक्छौँ।  


    समिर ओली
    लेखकबाट थप