वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष वलीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामीले जनताहरुसँग चुनावमा भोट माग्न जाँदा जुन प्रतिवद्धता जनाएका थियौं, त्यही प्रतिवद्धता अनुसार काम गर्दै आएका छौं । हामी जनतासामु जाने बेलामा गाउँ, टोल समाजमा जुन समस्याहरु छन्, ती समस्याहरुलाई समाधान गर्छौं भनेका थियौं । अहिले त्यहीअनुसार काममा लागेका छौ । जस्तै शिक्षामा गुणस्तरीयता, शैक्षिक पूर्वाधार निर्माण, सडक विस्तार, सडक कालोपत्रे, सडक स्तरोन्नति, सिंचाइमा सुविधा पुऱ्याउनकोलागि कुलोको नाला बनाउने, खोलाले जग्गा कटान गरेको स्थानमा तटबन्ध गर्ने, जाली लगाउने, स्वास्थ्यतर्फ नागरिकहरुलाई सरकारले दिने ३४ प्रकारका औषधीहरु निःशुल्क दिने, वडाको प्रांगणमा स्वास्थ्य चौकी स्थापना गरेर सेवा दिइरहेका छौं । त्यसैगरी जेष्ठ नागरिकहरुको घरदैलोमा पुगेर स्वास्थ्य चेकअपका कुराहरु, बालबालिकादेखि जेष्ठ नागरिकसम्मका स्वास्थ्य सम्बन्धी हेरविचार गर्ने कुराहरुमा प्रतिवद्धताअनुसार काम अगाडी बढाएका छौ । यद्यपी सबै कुरामा पुर्णता भन्ने चाहि हुँदैन । हामीले नागरिकसम्म कम्तीमा हाम्रो वडा कार्यालय छ, जनप्रतिनिधिहरुले काम गर्नु भएको छ । तसर्थ धेरै कुरामा हामीलाई सहजता भएको छ भन्ने कुरामा जनताले हामीलाई भरोसा गर्नुभएको छ । अहिलेको परिस्थितिमा नागरिकहरुमा निरासा देखिन्छ । यही स्थानीय सरकार पनि हुँदैन थियौं भने उहाँहरु अझ धेरै निरासामा पर्नु हुन्थ्यो होला । वास्तवमा जनताहरुमा उत्साह थप्ने काम स्थानीय सरकारले गरेको छ । हाम्रो सरकार, हाम्रो नजिकमा छ है भनेर काम गरेको अनुभूति हामीले नागरिकहरुलाई दिन सकेका छौ र यसैमा हामी खुशी पनि छौं र जनताहरु पनि खुशी हुनुहुन्छ ।
२- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
हाम्रो वडामा त्यस्तो गुनासोहरु आएको छैन् । हाम्रो वडामा एकजना दलित वडासदस्य बसन्ती सार्की बाहेक अन्य चारजना जनप्रतिनिधिहरु अघिल्लो कार्यकालबाट दोहोरिएर आएका छौं । अहिले आएको नयाँ वडासदस्य र हामी अन्य चारजनामा एकदमै एकता छ । हामीले कुनै पनि ठाउँमा काम गर्न जाँदा होस् या काम गर्न जाने क्रममा होस्, जिम्मेवारी बाँडफाँड गरेर जाने गरेका छौं । अहिले वडामा सबैले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छौं भने सामुहिक रुपमा पुग्ने ठाउँमा पनि हामी सामुहिक रुपमा पुगेर आफ्ना गतिविधिहरु गरिरहेका हुन्छौ । त्यसैले पनि हाम्रो वडामा त्यस्तो खालको गुनासोहरु केही छैन् ।
३- वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?
हामीले खासगरी उत्पादनको क्षेत्रमा जोड दिएका छौ । जबसम्म नागरिकहरुलाई उत्पादनको क्षेत्रमा जोड्न सहजता पुऱ्याउँदैनौ, तबसम्म हामीले हाम्रो समाजलाई समृद्ध समाज बनाउन सक्दैनौ, र नागरिकको सन्तुष्टिको मापन पनि उत्पादनको कुराले नै गर्दोरहेछ । जब मान्छे आर्थिक रुपमा केही सम्पन्न हुँदै जान्छ । त्यसपछि मात्रै मान्छे सन्तुष्ट हुँदै जाने स्थितिमा आउँछ । एउटा सडक निर्माणले मान्छेलाई एकछिन खुशी त देला, एउटा खालको सहजता ल्याउँछ नै । फेरी मान्छेको आर्थिक अवस्था कमजोर छ भने र औषधि उपचार गर्न नसक्ने अवस्थामा छ भने उस्लाई सडक बनाएको कुराले उत्सुकता दिँदैन । त्यस कारण यो वर्ष हामीले भौगोलिक कुरा हेरेर कृषि र पशुक्षेत्रमा अलि बढी लगानी गर्ने खालको कार्यक्रम अगाडी बढाएका छौं । धेरै ठाउँमा पक्की कुलो बनाउने काम भएको छ । जसका कारण किसानहरुलाई सिंचाई गर्न सहज होस् भनी काम गरेका हौं । र हामीले वडामा बनाएका ताल तलैयाँहरुबाट पाइप लाइन विस्तार गरेर, मोटर जडान गरेर त्यहाँबाट सिंचाई पुऱ्याउँने र बाह्रैमहिना सिंचाईको सुविधा दिने काम अगाडी बढाएका छौं । अर्को कुरा हामीले शिक्षामा औपचारिक मात्र नभएर अनौपचारिक शिक्षालाई पनि अहिले जोड्दै अगाडी बढेका छौं । औपचारिक शिक्षा लिनको लागि कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित नहोस् भनेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएका छौं । हामीले दलित, विपन्न, द्धन्द्ध पीडितलगायतका घरपरिवारका बालबालिकाहरुलाई उच्च शिक्षा पढ्नकोलागि वडाका पाँचजनाको खर्च बेहोर्ने कामहरु गरेका छौं । तल्लो कक्षामा पनि सामुदायिक विद्यालयहरुमा आर्थिक अभावका कारणले विद्यालय जान नसक्ने बालबालिकाहरुकालागि हामीले विद्यालयसँग समन्वय गरेर विद्यार्थीहरुलाई विद्यालयसम्म पुऱ्याउने वातावरण मिलाएका छौं । अर्कोतर्फ अनौपचारिक शिक्षामा हामीले खासगरी आमा समूह, टोलविकास संस्थाहरुलाई लक्षित गरेर हामीले अहिलेको समयअनुसारको शिक्षा दिन थालेका छौं ।
महिलाहरुले अहिले मोबाइल फोन, फेसबुकहरु चलाईरहँदा उहाँहरुलाई मान्छेहरुले गलत ढंगले उपयोग गर्ने खालको परिपाटी हाम्रो समाजमा विकास भएको छ । सामाजिक सञ्चाल चलाउन नजान्दा चाहिने कुरा हेर्न खोज्दा आफुले नपाउने र नचाहिने कुरामा अनावश्यक गलत कुराको सिकार बन्ने देखिन्छ । यस्लाई हामीले मेट्नु पर्छ । महिला दिदीबहिनीहरुलाई पनि अब अगाडी बढाउनु पर्छ र सबैजना प्रविधिमा मैत्री बन्न सक्नु पर्छ भन्ने खालका कुरा लिएर हामीले टोल विकास संस्थामा यसवर्ष यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्ने भनेर बजेट विनियोजन गरेका छौ । अनौपचारिक शिक्षा अर्को महत्वपूर्ण शिक्षा रहेछ भन्ने हाम्रो बुझाइ छ । जबसम्म हाम्रो समाज औपचारिक र अनौपचारिक शिक्षा लिनेहरुको बीचमा शिक्षाले भरिपूर्ण मान्छे हुँदैनन्, तबसम्म त्यो समाज समृद्ध हुन सक्दैन, सुखी समाज बन्न सक्दैन, त्यो समाज शान्तिपुर्ण बन्न सक्दैन भन्ने हाम्रो बुझाई भएर हामीले त्यस्ता खालका अनौपचारिक शिक्षालाई जोडेर गाउँ, समाजमा यस्ता खालका कार्यक्रमहरु गरेका छौं । त्यस्तै उत्पादनको क्षेत्रमा पनि कस्ता खालको खाने कुरा बजारमा आइरहेका छन् । ती खाने कुराले स्वास्थ्यमा कस्तो खालको असर गरिरहेको छ । स्वस्थ बन्नकोलागि हामीले कस्ता खालका उत्पादन गरेर खानुपर्छ भनेर मेरो भान्सा, मेरो बारी र अर्गानिक तरकारी जस्ता कार्यक्रम लागू गरेका छौं । हामीले आफ्नो बारीमा आफैले उत्पादन गरेको विषादी मुक्त खाना नागरिकहरुलाई खुवाउनु पर्छ भनेर वडामा कार्यक्रम अगाडी बढाएका छौं । त्यसैगरी मुक्त कम्लहरीहरुसँगको सहकार्यमा हाम्रो वडाबाट जग्गा भाडामा सहुलियत गरिदिएर अर्गानिक तिल्की धान उत्पादन गर्ने काम सम्पन्न गरेका छौं । यो वर्ष पनि निरन्तर छ, आगामी दिनमा पनि त्यो निरन्तर गर्दै जाने छौं । अहिले अर्गानिक तिल्की धानको खेति गरेको देखेर अन्य नागरिकहरुले पनि अब यसरी उत्पादन गर्नुपर्छ भनेर उहाँहरुलाई चेतना भएको स्थिति देखिन्छ । यो ढंगले हामीले नागरिकहरुलाई उत्पादनमा त्यो पनि अर्गानिक उत्पादनमा जोड दिएर उहाँहरुको आर्थिक अवस्था बलियो बनाउने कुरामा काम गरिरहेका छौ । शिक्षामा बढी जोड दिएका छौं । अर्कोतर्फ हामीले वडाबाट पशु सुत्केरी भत्ता कार्यक्रम पनि निरन्तर अगाडी बढाएका छौं । जस्ले गर्दा किसानहरुलाई पशुपालन तर्फ उत्साह थपेको छ । यो कार्यक्रम हामीले किसानहरुलाई लक्षित गरेर अगाडि बढाएका हौं । यसले किसानहरुलाई पशुपालनतर्फ उत्साहित गरेको छ ।
४-जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
हामीले वडाबासीहरुको गुनासो सुन्ने विभिन्न माध्यमहरु छन् । टोल विकास संस्थाका बैठकहरु, भेलाहरुमा गएर पनि हामीले नागरिकका गुनासोहरु सुन्ने गरेका छौं । औपचारिक रुपमा गुनासो सुन्ने कुरा एउटा छ भने, अनौपचारिक रुपमा गुनासो सुन्ने कुरा अर्को छ । अनौपचारिक रुपमा गुनासो सुन्ने कुरा स्थानीय सरकार नागरिकको घरदैलोको सरकार भएकाले प्रत्यक्ष नागरिकसँग दैनिक हाम्रो भेटघाट हुने हुँदा हामीले त्यहाँ पनि गुनासो सुन्छौ भने अर्को तर्फ हामीले गुनासोहरु सुनेर कार्यान्वयन गर्ने गरेका छौ । नागरिकका गुनासोहरु सुन्ने भएकाले पनि हामी प्रति नागरिकहरुको भरोसा छ । स्थानीय सरकार प्रति नागरिहरुले विस्वास गर्नु हुन्छ । नागरिकहरुले हामीसँग निरधक्क भएर गुनासोहरु राख्नु हुन्छ । उहाँहरुको गुनासो सुनेर नै नागरिकहरुको निरासा अहिले आशामा बदलिएको छ ।
५-सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सकनुपर्ने समय सीमा छ । त्यसको निम्ति तपाईहरुको तयारी कस्तो छ ?
दिगो विकासका लक्ष्यहरु मूख्य टार्गेट बनाएर काम गर्नु पर्ने हुन्छ र त्यहीअनुसार कामहरुलाई बिशेष फोकस गरेर काम गर्दै आएका छौं । मैले अघि भनेका कुराहरुमा पनि दिगो विकासका कतिपय लक्ष्यहरु भेटिने खालको छ । समग्रमा दिगो विकासका सूचकहरुलाई मध्यनजर गरेर वडामा काम गरिरहेका छौ ।
