तुलसीपुर, १३ पुस । तुलसीपुरमा हुने माघ महोत्सवका लागि पुसको २२ गतेसम्म नाच दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ । थारु कल्याणकारिणी क्षेत्र नम्बर ३ र नमुना भूइँह्यार थानको शनिबार बसेको संयुक्त बैठकले पुस २२ गतेसम्म नाच दर्ता गर्ने, नाच प्रतियोगिता मध्येबाट उत्कृष्ट नाच छनौट गर्ने, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने र प्रमुख अतिथि छनौट गर्ने लगायतका निर्णय गरेको थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पुस २२ गतेपछि दर्ता भएका नाचलाई प्रगियोगितामा समावेश नगर्ने, थारु पत्रकार, महटाँवा, सामाजिक व्यक्तित्वमध्ये एक–एक जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै २३ गतेका लागि अशोक थारुलाई प्रमुख अतिथि बनाउने र २४ गतेका लागि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी प्रमुख अतिथि रहने उहाँले जानकारी दिनुभयो ।
थारु समुदायको संस्कृति, रितिरिवाज, परम्परा संरक्षण र सम्बर्द्धनका लागि थारु कल्याणकारिणी दाङ क्षेत्र नम्बर ३ र नमुना भुइँह्यार थान जबरपुरको संयुक्त आयोजनामा हुने माघ महोत्सवमा २३ गते साँझ ढुमरु गीत गाउने र २४ गते सांस्कृतिक कार्यक्रम हुनेछ । उक्त सांस्कृतिक कार्यक्रम नमुना भुइँह्यार थान जबरपुरको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ ।
